Radio Unity 92.2MHz

अनेरास्ववियु डडेल्धुराले भन्यो–निजी विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ, नत्र आन्दोलन गर्छौं

डडेल्धुराः नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) डडेल्धुराले संस्थागत/निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरूपमा छात्रवृत्ति उपलब्ध गराउन माग गरेको छ।

अनेरास्ववियु डडेल्धुराले मंगलबार प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो। कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाएर अनिवार्य छात्रवृत्ति उपलब्ध गराउन जिल्ला भित्रका सबै विद्यालयलाई अनेरास्ववियुले आग्रह गरेको छ।

‘नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ। संविधानमा भएको व्यवस्था कार्यान्वयनका लागि डडेल्धुराका सातवटै स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराउँदछौं,’ कार्यवाहक अध्यक्ष गणेशबहादुर क्षेत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘साथै निजी शैक्षिक संस्थाहरुले दिनुपर्ने अनिवार्य जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति प्रक्रिया पु¥याई भर्ना गरी आफ्नो शैक्षिक संस्थाको वेबसाइट तथा सूचना पाटीमा अनिवार्य सार्वजनिक गर्न अनेरास्ववियु डडेल्धुरा डडेल्धुराका सम्पूर्ण निजी शैक्षिक संस्थाहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराउँदछ।’

विद्यार्थी आन्दोलनबाट प्राप्त हक अधिकारलाई व्यवहारमा लागू गराउन अनेरास्ववियु डडेल्धुराले माग गरेको छ। अनेरास्ववियु डडेल्धुराले जुनसुकै समयमा पनि निरीक्षण गर्नेछ र यदि नियमअनुसार प्रक्रिया नपुगेको पाइएमा आफ्ना थप आन्दोलनका चरण अगाडि बढाउने पनि उसले चेतावनसमेत दिएको छ। उक्त आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी स्वयंम संस्था र सम्बन्धित निकाय हुने कुराको समेत जानकारी जिल्ला प्रशासन कार्यालयलाई अवगत गराइएको कार्यवाहक अध्यक्ष क्षेत्रीले बताए।

ज्ञापनपत्र :

 

सम्बन्धित पाेष्टहरु
Loading...