चिकित्सकको पुर्जाबिना नै औषधि बेच्छन् डडेल्धुराका फार्मेसी !
डडेल्धुरा: डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रका मेडिकल तथा फर्मेसी पसलमा अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको नेतृत्वमा डडेल्धुरा अस्पताल, स्वास्थ्य कार्यालय, अमरगढी नगरपालिका, आन्तरिक राजस्व कार्यालय, प्रहरी कार्यालय तथा पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको हो।
नियमअनुसार व्यवस्थित भए नभएको, दर्ता, नविरकण, हुनुपर्ने व्यक्ति फर्मासिष्ट भए नभएको, औषधि व्यवस्थित तरिकाले बेचे नबेचेको लगायतको अनुगमन गरिएको प्रशासकीय अधिकृत ओझाले बताए। उनका अनुसार जिल्लाका अधिकांश फार्मेसीमा चिकित्सकको पुर्जा (प्रेसकिप्सन) बिना औषधि विक्रीवितरण भइरहेको पाइएको छ।
‘डाक्टरको प्रेसकिप्सन लिएर मात्रै विक्री गर्नुपर्ने औषधिहरू चिकित्सकको पुर्जाबिना नै विक्री भइरहेको पाइएको छ’, उनले भने, ‘हामीले अब आउने दिनमा यसरी औषधि विक्रीवितरण गरेको पाएमा नियमानुसार कडा कारबाही गर्ने चेतावनी दिएका छौँ।’
औषधि ऐन २०३५ को दफा १७ को उपदफा (१),(२),(३) र (४) मा स्पष्टरूपमा औषधि बिक्री गर्न फर्मासिष्ट, फार्मेसी सहायक वा औषधि व्यवसायीको रोहवरमा अप्राविधिकले बेच्न पाउँछ। अन्यथा प्राविधिकहरूले नै बेच्ने उल्लेख गरिएको छ। तर, यहाँका फर्मेसी पसलमा फार्मेसी नपढेकाले औषधि बेचिरहेका छन्।
फार्मेसी पसलमा फर्मासिस्टको अनुपस्थितिमा स्वास्थ्य सहायक (एचए), अहेब पढेकाले पनि औषधि बेचिरहेको पाइएको प्रशासकीय अधिकृत ओझाले बताए। यसका साथै मेडिकल तथा फर्मेसी पसल नगरपालिकामा दर्ता नभएको पनि पाइएको छ।
यस्तै, जिल्लाका केही फर्मेसीले लाइसेन्स अर्कै व्यक्तिको लिएर पनि चलाइरहेका पाइएको छ। अर्थात् फार्मेसी पसलको धनी र व्यवसायी फरक देखिएको छ। अर्को भाषामा भन्नुपर्दा लाइसेन्स भाडामा लिएर फार्मेसी सञ्चालन भइरहेको छ। अनुगमनका क्रममा अहिलेलाई सचेत गराइएको र अर्को पटक नियमानुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।