डडेल्धुरा: डडेल्धुरा सदरमुकामको बसपार्कमा रहेको एनएमबी बैंकको शाखा नयाँ ठाउँमा स्थानान्तरण भएको छ। जिल्ला सदरमुकामको मुख्य बजारमा सडक विस्तार भएसँगै एनएमबि बैंक पनि विस्थापित भएको थियो।
अहिले सो शाखा नयाँ व्यवस्थापनका साथ बगरबाटा सडक खण्डमा रहेको पुरानो गार्डेन मार्ट रहेका भवनबाट सेवा विस्तार गरेको हो। एनएमबी बैंक लिमिटेड डडेल्धुरा शाखा विगत लामो समयदेखि डडेल्धुरा बसर्पाकबाट आफ्नो सेवा दिँदै आएको थियो।
आइतबारदेखि नयाँ ठाउँमा स्थानान्तरण भई सेवा सुचारु गरिसकेको छ। ग्राहकहरूलाई सेवा दिनका लागि थप व्यवस्थापनका साथ नयाँ भवनमा कार्यालय सारेको हो। यस ठाउँबाट ग्राहकलाई सन्तुष्टि दिन र सेवालाई दु्रत गतिमा लैजाने किसमले कर्मचारी समेत परिचालन र निर्देशन गरिएको सेवा सुचारु गर्दै एनएमबी बैंकका सुदूरपश्चिमका प्रादेशिक सञ्चालक तथा प्रमुख विनोद मान सिंहले बताए।
प्रादेशिक प्रमुख सिहंको प्रमुख आथित्यमा शाखालाई नयाँ भवनमा उद्घाटन गरी सेवा सञ्चालनमा ल्याएको डडेल्धुरा शाखा प्रमुख वीरेन्द्रबहादुर भण्डारीले जानकारी दिए। जिल्लास्थित विभिन्न बैंकका प्रमुख तथा कर्मचारी, पत्रकार, बैंकका ग्रहाक र शुभचिन्तकको उपस्थितिमा प्रादेशिक संञ्चालक प्रमुखले बैंक सेवा नयाँ भवनवाट उद्घाटन गरेका हुन्।
एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ। यो बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित भएको बैक हो। एनएमबी बैंकका देशभर २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गरिरहेको शाखा प्रमुख भण्डारीले जानकारी दिए।