Radio Unity 92.2MHz

थारु समुदायको गुरही पर्व आज

धनगढीः  पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनउदै छन्।  वभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो। गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन्।यो पर्वमा कपडाको गुरहा गुरही गाइने किरा बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ।

बालिका वा केटीहरूले गुरहीसहित घुघ्री मकै, केराउ वा चनाको भुजा फाल्ने गर्दछन्।फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने पिट्ने चलन रहेको छ।यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ। गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ।

यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ। गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ।

हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउँदै आएको सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले बताइन। उनका अनुसार नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको हो।

सम्बन्धित पाेष्टहरु
Loading...