कञ्चनपुर: अघिल्ला वर्षहरूमा तिहार नजिकिँदै गर्दा र आँगनमा ढकमक्क फुलेका सयपत्री देख्दा भीमदत्त नगरपालिका–३ की पुष्पा जोशीलाई औधी खुसी लाग्थ्यो । घर कसरी झिलिमिली पार्ने भनेर उनी आफैं कस्सिन्थिन् । दाइ विपिनले उनलाई सबै काममा सघाउँथे । तर, यसपालि उनको घरको दृश्य फरक छ ।
नजिकिँदो तिहारसँगै उनको आँगनभरि सयपत्री त फुलेको छ तर उनको मन निराशाको बादलभित्र हराएजस्तो भइरहेको छ । छरछिमेकले घरभरि झिलिमिली बत्ती बालिसक्दा पनि उनले घर सजाउन सकेकी छैनन् । घरि दाइ विपिनको तस्बिर हेरेर टोलाउँछिन् । घरि मोबाइलमा दाइसँग म्यासेन्जरमा भएका कुराकानीका शब्द हेरेर झोक्राउँछिन् ।
‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत दुई महिनाअघि इजरायल गएका दाइ विपिन हमास–इजरायल द्वन्द्वसँगै सम्पर्कविहीन छन् । एक साताअघि मात्रै इजरायली सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । विपिन कस्तो अवस्थामा कहाँ छन् र उनी कहिले छुट्छन् भन्ने कुनै निश्चित खबर नहुँदा पुष्पाको मन आत्तिएको छ । तिहार नजिकिएसँगै उनलाई दाइको यादले झन् सताइरहेको छ । १७ वर्षीया पुष्पाले भनिन्, ‘अहिलेसम्म कुनै वर्ष पनि दाइलाई टीका लगाउन छुटाएकी छैन । यसपाला के हुने हो, कुनै टुंगो छैन ।’
तिहारको आगमनसँगै छरछिमेकका दाइभाइहरू घर फर्किरहेका छन् । बिहे गरेका दिदीबहिनी बोलाउन दाइभाइ कस्सिएका छन् । तर पुष्पाको मन भने बेचैन छ । ‘घर फर्किंदा तिम्रा लागि राम्रो गिफ्ट ल्याइदिन्छु भन्नुभएको छ,’ पुष्पा सम्झिन्छिन्, ‘मलाई गिफ्ट चाहिएन, दाइ सकुशल घर आए पुग्छ, दाइको आशीर्वाद पाए पुग्छ ।’ पुष्पा र विपिन दाजु बहिनीमात्र थिएनन्, स–साना कुरा पनि एकअर्कासँग साट्ने साथीजस्ता थिए । एकअर्कालाई नसोधी उनीहरू कुनै काम सुरु गर्दैनथे ।
इजरायल जाने विषयमा पनि सबैभन्दा पहिले विपिनले पुष्पालाई नै सोधेका थिए । पुष्पाले सहमति जनाएपछि मात्रै उनले घर परिवारमा कुरा गरेका थिए । ‘हामी दुई बेस्ट फ्रेन्ड पनि हौं, एकअर्काका कुरा र समस्या मिलेर समाधान गर्दै आएका छौं,’ पुष्पाले भनिन्, ‘इजरायल गएपछि पनि दिनमा तीन/चार पटक कुरा नगरेको दिन छैन ।’
पुष्पाले घरआँगनमा सयपत्री, मखमलीदेखि विभिन्न किसिमका फूल रोपेकी छन् । तर, ती फूलको स्याहार गर्न सकेकी छैनन् । दाइ अपहरणमा परेदेखि उनी फूलको स्याहार गर्न त के खुलेर बोल्न पनि सक्दिनन् । तिहार नजिकिँदै गर्दा उनको मनमा विगतका वर्षमा भाइलाई लगाएको टीका र एकआपसमा रमाएको कुरा खेल्न थाल्छ । त्यसपछि उनी एकोहोरो टोलाउँछिन् ।
गत वर्षको तिहारमा विपिनले पुष्पालाई दुवै जनाको सानो छँदाको फोटो फ्रेमिङ गरेर दिएका थिए । पुष्पाले जहिल्यै घरमा माला बनाएर पहिर्याउँथिन् । विपिन पनि माला बनाउन सहयोग गर्थे । ‘जसरी भए पनि मेरो दाइलाई तिहारअगाडि नै घर पुर्याइदिनु पर्यो,’ दाइको फोटो नियाल्दै पुष्पाले भनिन्, ‘मेरो एक्लो दाइ हुन्, म पनि एक्लै बहिनी हुँ, तिहार आउँदै छ, मलाई नियास्रो लाग्दै छ ।’
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसमा कृषि संकायमा अध्ययनरत विपिन भदौ २६ मा अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । इजरायल जानुअघि उनी भदौ १४ मै घरबाट काठमाडौं गएका थिए । जाने बेला विपिनले बहिनीलाई काम र पढाइ दुवै राम्रो भएकाले छिट्टै घर फर्किने वाचा गरेका थिए । इजरायलमा काम सिकेर आएपछि यहाँ पनि कृषि व्यवसाय गर्नॅपर्ने विषयमा कुरा भएको उनले बताइन् ।
असोज २० मा प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयकै १० जना विद्यार्थी मारिएका थिए । अन्य केही विद्यार्थी घाइते भए । बाँकीलाई सरकारले उद्धार गरेर ल्यायो । तर, विपिन हमासको अपहरणमा परेको जानकारी पाएर पनि सरकारले खासै पहल नगरेको जोशी परिवारको गुनासो छ । ‘अपहरणमा परेको भन्ने थाहा भइसक्यो, उद्धारका लागि पहल भइरहेको छ भन्न थालेको पनि एक महिना भयो,’ विपिनका बुवा महानन्दले भने, ‘अब हामीलाई पहल होइन, छोराको सुकशल उद्धार चाहिएको छ ।’
जोशी बझाङमा शिक्षण पेसामा छन् । उनकी श्रीमती पद्मा पनि कञ्चनपुरमै शिक्षण पेसामा छिन् । छोरा बेपत्ता भएको सुनेपछि जोशी घर फर्किएका हुन् । उनकी श्रीमती अहिले पनि जेनतेन स्कुल गइरहेकी छन् । पठनपाठनको काम गर्न भने निकै समस्या भइरहेको छ । ‘सरकार, मानवअधिकारवादी संघसंस्था र संयुक्त राष्ट्रसंघले हाम्रो छोराको उद्धार गर्न पहल गर्न ढिलाइ गर्न हुँदैन,’ महानन्दले भने, ‘विभिन्न देशले अपहरणमा परेका आफ्ना नागरिकको उद्धार गरेको सुनियो तर हाम्रो सरकार भने निरीह देखियो ।’ –कान्तिपुरबाट