बैतडी : कञ्चनपुरमा बसले ठक्कर दिँदा बैतडीकी भागरथी अवस्थीको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–९ गन्सुर घर भएकी ३९ बर्षीया अवस्थीलाई आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११कलुवापुरमा बसले ठक्कर दिएको थियो।
केही दिन पहिलामात्रै भतिजीको बिहेमा सहभागी हुन आफ्ना श्रीमान शिवराज अवस्थीसहित भागरथी बैतडीबाट कञ्चनपुर गएकी थिइन्।आइतबार बैतडी आउने क्रममा उनका श्रीमान शिवराजले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् ।
भागरथीको उपचारकै क्रममा धनगढीस्थित मायामेट्रो हस्पिटलमा मृत्यु भएको उनका आफन्त मुरलीधर अवस्थीले बताए । म १ख९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिएपछि मृतकका श्रीमान शिवराज अवस्थी र १३ बर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए । घाइते बुवाछोरा उपचारपछि डिस्चार्ज भइसकेका भएपनि भागरथीको भने मृत्यु भएको हो ।
सिगासस्थित लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक समेत रहेकी अवस्थीको निधनले गन्सुर गाउँ शोकमा डुबेको स्थानीय समेत रहेकी शिक्षिका लक्ष्मी शाह चन्दले बताइन् ।
मृतक अवस्थीका दुई छोरी र दुई छोरा रहेका छन् । घटनापछि बस र बसका चालक ३२ बर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।