Radio Unity 92.2MHz

सुदूरपश्चिमले उसुमा रच्यो इतिहास, जित्यो २२ मध्य १४ स्वर्ण

धनगढी: सुदूरपश्चिम प्रदेशले उसु प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ। हेटौंडास्थित मकवानपुरमा आयोजित अन्तर प्रदेशस्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले १४ स्वर्ण जित्दै ऐतिहास रचेको हो।

मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पार्‍यो। प्रतियोगितामा दुई रजत र चार कास्य पदकसमेत सुदूरपश्चिम प्रदेशले जितेको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जित्यो।

पुस ११ र १२ सञ्चालन भएको प्रतियोगिताअन्तर्गत महिला तर्फ ४८, ५२, ५६, ६० र ७० किलो तौल समूहबीच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ र ६० किलो तौल समूह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक तथा कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु सहायक प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक रतन खातीले बताए।

यसैगरी पुरुषतर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ७५ र ८० किलो तौल समूहबीच प्रतिस्पर्धा गराइएकोमा ४८ किलो तौलबाहेक सवै स्वर्ण सुदूरपश्चिम प्रदेशले जितेको उनले ताए। प्रतियोगितामा ४८ किलो तौल समूहबाट सुदूरपश्चिमका लागि खेलेकी स्वर्ण पदक विजेता अस्मिता गाहामगर उत्कृष्ठ खेलाडी चुनिइन्।

सुदूरपश्चिम प्रदेशबाट पहिलो अन्तरराष्ट्रिय च्याम्पियन उसु प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेकी अलिसा खातीले छियाङ्सु/चेन्सु विधामा स्वर्ण पदक जित्न सफल भइन् भने थाइची छ्वान् अलराण्डडरमा कुँवरले स्वर्ण पदक हात पारेकी हुन्। त्यसैगरी महिला थाङछ्वानमा सुपकी दीपिका चौधरीले स्वर्ण हात पारिन्। सुदूरपश्चिमको उसु टोलीमा राजकुमार राना र नवीन गाहामगरले प्रशिक्षक रहेका थिए।

प्रतियोगितामा ४ स्वर्ण, ९ रजत र ६ कास्य गरी १९ पदकका साथ बागमती प्रदेश उसु टिम दोश्रो तथा ३ स्वर्ण, ६ रजत र ६ कास्यसहित १५ पदक जित्दै आयोजक मकवानपुर उसु संघ तेस्रो भएको हो। प्रतियोगितामा एक स्वर्ण गण्डकीले जित्दा अन्य ५ प्रदेशले भने स्वर्ण पदक जित्न नसकेको निर्णायक खातीले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...