Radio Unity 92.2MHz

माओवादी नेता धानुकले गरे शिवशंकर माविमा एक लाखको अक्षयकोष स्थापना

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य भरत धानुक ‘पुकार’ ले शिवशंकर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। उनले डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीस्थित शिवशंकर माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

साँदनीकै स्थानीयसमेत रहेका धानुकले विद्यालयको ३५औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार आफ्नी आमा परेदेवी धानुक र को ८४औं जन्मदिनको उपलक्ष्यमा र बुवा स्व. मानबहादुर धानुकको नाममा अक्षयकोष स्थापना गरेका हुन्।

गरिब जेहन्दार विद्यार्थीलाई सानो सहयोग पुगोस् भन्ने भावनाले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको नेता धानुकले बताए। उनले ८४ वर्षीया आमालाई सँगै लगेर विद्यालयमै गएर रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव भट्ट ‘किरण’ र प्रधानाध्यापक केशवराज अवस्थीलाई हस्तान्तरण गरेका हुन्।

अक्षयकोषबाट हरेक वर्ष गरिब, जेहन्दार, टुहुरा बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। परशुराम नगरपालिकाका उपप्रमुख विमला महताको प्रमुख अतिथ्यतामा भएको वार्षिकोत्सव कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकसँग जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...