धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता दीर्घबहादुर सोडारी दाबी पेस गरेका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
बिहीबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरे। यसअघि गत आइतबार नेपाली काग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
प्रदेश प्रमुख मियाँले दुबै दाबीका आधारमा निश्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए। प्रदेश प्रमुख मियाँले आज बेलुका ५ सम्मको लागि दलहरूलाई दाबी पेस गर्ने समय दिएका थिए।
सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन्। साेडारीले माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्। सोडारीले बिहीबार नै मुख्यमन्त्रीको शपथ लिने तयारी छ।