Radio Unity 92.2MHz

महेन्द्र मावि डडेल्धुरामा विद्यार्थीको क्रेज, नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिइयो

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीको क्रेज बढ्दै गएको छ।

सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय नभएको भन्दै सधैँजसो आलोचना हुने गरेका बेला महेन्द्र माविमा भने विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ।

विद्यार्थीको चाप बढेपछि महेन्द्र माविले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको छ। विद्यालयले शनिबार कक्षा २–९ र प्राविधिकधारमा नयाँ विद्याथी भर्ना गर्न प्रवेश परीक्षा लिएको हो। प्रवेश परीक्षामा कूल २९८ जना सहभागी भएका छन्।

साधारण धारतर्फ नयाँ भर्ना कक्षा (२–९) का लागि प्रवेश परीक्षा २३५ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए। उनका अनुसार साधारण धारतर्फ नयाँ भर्ना १७५ सिटका लागि प्रवेश परीक्षा लिइएको हो।

प्राविधिक धारतर्फ ४८ सिटका लागि ६३ जनाले प्रवेश परीक्षा दिएको विद्यालयका शिक्षक अशोक बमले जानकारी दिए। उनका अनुसार जिल्ला र जिल्ला बाहिरका विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी छन्। गत वर्ष एक हजार ५ सय ५४ जना विद्यार्थी भर्ना भएका थिए।

जिल्ला सदरमुकामका निजी विद्यालय विद्यार्थी खोज्नका लागि गाउँगाउँ धाइरहेका बेला महेन्द्र माविमा भने विद्यार्थीको चाप छ। सामुदायिक विद्यालय भएपनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ।

शैक्षिक सत्र २०७० देखि कक्षा ९–१० सम्म प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन सञ्चालन गरी २०७२ सालदेखि प्राविधिक धारतर्फ कक्षा ११–१२ को समेत पठनपाठन विद्यालयमा हुँदै आएको छ। टाढाका विद्यार्थीका लागि २ वटा स्कुल बसको व्यवस्था गरेसँगै महेन्द्र माविमा विद्यार्थीको आकर्षण थप बढेको हो। विद्यालयको स्थापना २०१४ सालमा भएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...