Radio Unity 92.2MHz

अमरगढी किल्ला र खप्तडलाई चिनाउन साइकल यात्रा

  • प्रकाश पार्की

डडेल्धुरा: सुदूरपश्चिमको ऐतिहासिक पर्यटकीय स्थल डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडको त्रिवेणी धामसम्म अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा सुरु भएको छ।

शुक्रबार बिहान अमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक अमरगढी किल्लामा एक कार्यक्रमका बीच साइकल यात्राको प्रारम्भ गरिएको हो।

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय धनगढी, कैलालीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साइकल यात्रा थालिएको हो।

अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहरालगायतले साइकल चडेर साइकल यात्राको सुभारम्भ गरे।

अमरगढी किल्ला र खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको निमित्त प्रमुख बोहराले बताए। उनका अनुसार अमरगढी किल्ला र खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिएको हो।

‘अमरगढी र खप्तडको प्रचारप्रसारका साथै वातावरण प्रदूषण हुने सवारीसाधनलाई कम प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले पनि हामीले अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा आयोजना गरेका हौँ,’ निमित्त प्रमुख बोहराले भने, ‘साइकल यात्राले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ।’

साइकल यात्राको शुभारम्भ कार्यक्रममा अमरगढीका नगर प्रमुख जोशीले साइकल यात्राले अमरगढी किल्ला र खप्तडको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे।

उनले ऐतिहासिक पर्यटकीय स्थल अमरगढीको प्रचारप्रसार गरी सहयोग गरिदिन सबै साइकलयात्रीहरूलाई आग्रह समेत गरे। साइकल यात्रा सफलताको शुभकामना दिँदै नगर प्रमुख जोशीले पर्यावरण बचाउनमा साइकलको महत्वूर्ण भूमिका हुने बताए।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले साइकल यात्रा स्वास्थ्यलाई फाइदाजनक भएको बताए। वातावरण संरक्षण र पर्यटनलाई जोडेर थालिएको अमरगढी–खप्तड साइकल यात्रा कार्यक्रम सराहनीय कार्य भएको उनको भनाइ थियो। पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नका लागि मिडियासँग समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए।

साइकल यात्रामा तीन भारतीय नागरिकसहित ३२ जना साइकल यात्रीको सहभागिता रहेको छ। जसमा तीनजना महिला साइकलयात्री पनि छन्। शुक्रबारदेखि थालिएको अमरगढी–खप्तड साइकल यात्रा वैशाख २५ गते समापन हुनेछ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालयका योजना अधिकृत दानबहादुर थापाका अनुसार साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

   

सम्बन्धित पाेष्टहरु
Loading...