Radio Unity 92.2MHz

तटबन्ध योजनाको संयुक्त अनुगमन

डडेल्धुरा: भू–तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराद्वारा सञ्चालित दुई योजनाको संयुक्त अनुगमन गरिएको छ। शनिबार गन्यापधुरा गाउँपालिका–३ स्थित मेल्टा खेत तटबन्ध र नवदुर्गा–३ को खातीखोला खेत तटबन्ध योजनाको संयुक्त अनुगमन गरिएको हो।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारी, भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख पुष्पराज जोशी, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकाया र पत्रकारलगायतको टोलीले अनुगमन गरिएको हो।

तटबन्ध निर्माण सम्पन्न भएपछि दुवै योजनाको अनुगमन गरिएको कार्यालयका सब–इन्जिनियर एवं सूचना अधिकारी ज्ञानेन्द्र ताम्राकारले जानकारी दिए। उनका अनुसार दुवै योजनाका लागि १०/१० लाख बजेट विनियोजना गरिएको थियो।

तटबन्ध निर्माण भएपछि बाढीबाट स्थानीयको खेत जोगिने भएको छ। मेल्टा खेत तटबन्ध योजना उपभोक्त समितिका अध्यक्ष दीपकबहादुर देउवाले तटबन्धले अब खेत जोगिने विश्वास व्यक्त गरे।

‘तारजालीसहितको तटबन्धले अब हाम्रो खेत जोगिन्छ,’ उनले भने, ‘यसअघि तटबन्ध नहुँदा आधाजति खेत खोलाले कटान गरेको थियो अब बाँकी रहेको खेत बाढीबाट बच्छ।’

सम्बन्धित पाेष्टहरु
Loading...