डडेल्धुरा: नेपाली सेनाले शीघ्र प्रभाव परियोजनाअन्तर्गत डडेल्धुरामा बनाएका दुई संरचना पालिकालाई हस्तान्तरण गरेको छ। रणबम गण दह व्यारेक डडेल्धुराले ऐतिहासिक अजयमेरुकोट र अमरगढी किल्लामा बनाएका संरचना पालिकालाई हस्तान्तरण गरेको हो।
रणबम गण र अजयमेरु गाउँपालिकाको संयुुक्त प्रयासमा निर्माण गरिएको अजयमेरु कोट दरबार जाने सिढी निर्माण कार्य समापनपछि सोमबार बिहान हस्तान्तरण गरिएको छ। नेपाली सेनाको नं. २५ बाहिनी अड्डा कञ्चनपुरका बाहिनीपति सहायकरथी मनोज थापाले सो संरचना गाउँपालिका उपाध्यक्ष बसन्ती पाललाई हस्तान्तरण गरे।
यस्तै अमरगढी किल्लामा नेपाली सेनाको शीघ्र प्रभाव परियोजनाअन्तर्गत प्राप्त बजेटबाट ढुङ्गा छाप्ने काम पनि सम्पन्न भएको छ। ढुङ्गा छाप्ने कार्य सम्पन्नपछि सो संरचना सेनाले सोमबार दिउँसो अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ।
निर्माण गरिएको संरचना बाहिनीपति सहायकरथी थापाले अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीलाई हस्तान्तरण गरे।
स्थानीयस्तरको आवश्यकता पहिचान गरी छोटो समय तथा थोरै बजेटमा गरिने विकास, निर्माण र सामाजिक सेवाका आयोजनालाई शीघ्र प्रभाव परियोजना भन्ने गरिन्छ। रणबम गणका गणपति प्रविन थापाका अनुसार शीघ्र प्रभाव परियोजनाबाट सिढी निर्माण र ढुङ्गा छाप्ने कामका लागि समान १०/१० लाख बजेट प्राप्त भएको थियो।
संरचना हस्तान्तरण कार्यक्रममा बाहिनीपति सहायकरथी मनोज थापाले नेपाली सेना समाजको अभिन्न अंग भएको बताए। उनले वन्यजन्तु, ऐतिहासिक महत्त्वपूर्ण सम्पदाको संरक्षण गर्नुपर्ने सेनाको दायित्व भएको उल्लेख गरे। सहायकरथी थापाले सेनाले शिक्षा, स्वास्थ्य क्षेत्रका साथै ग्रामीण बाटो निर्माण पनि गर्ने गरेको बताए।
‘सेनाले विकास निर्माणका कार्यमा सहयोग गर्दै आएको छ। विभिन्न निकुञ्जमा रहेका वन्यजन्तु, ऐतिहासिक महत्त्वपूर्ण सम्पदाको संरक्षण गर्नुपर्ने हाम्रो दायित्व छ,’ उनले भने, ‘हामी सबैको त्याग र बलिदानबाट मात्रै देश जोगिन्छ। सबै मिलेर अगाडि बढ्नुपर्छ।’
अमरगढी नगरपालिकाका नगरप्रमुख जोशीले रणबम गणले गरेको कामको खुलेरै प्रशंसा गरे। ‘रणबम गणले अमरगढी किल्लामा निकै राम्रो काम गरेको छ। कम बजेटमा पनि समयमै काम सम्पन्न गरेर हामीलाई हस्तान्तरण पनि गर्यो,’ उनले भने, ‘यसरी नै अन्य क्षेत्रले पनि काम समयमै सके साँच्चिकै विकासमा नेपाल धेरै अगाडि बढ्थ्यो।’
यसैबीच, अमरगढी नगरपालिकाले रणबम गण र गणपति प्रविन थापालाई कदरपत्र प्रदान गरेको छ।
किल्लामा सेनाले उत्कष्ट काम गरेको भन्दै नगरपालिकाले कदरपत्र प्रदान गरेको हो। नगर प्रमुख जोशी र बाहिनीपति सहायकरथी मनोज थापाले गणपति प्रविन थापालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान हुन्।