Radio Unity 92.2MHz

सुदूरपश्चिममा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा

धनगढी: सुदूरपश्चिम प्रदेशको कैलालीमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा भएको छ। कैलालीको धनगढीमा यहीँ जेठ २७ र २८ गते हुने उक्त मेलाको तयारी पूरा भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको आयोजनामा आइतबारदेखि कैलालीको धनगढीस्थित ओम प्यालेसमा मेला सुरु हुँदैछ।

मेलाको विषयमा जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्धेश्य रहेको बताए।

उनले भने, ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौँ।’

त्यस्तै, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए। रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए।

उनले भने, ‘वर्षौदेखि हामी हरेक कुराको लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ। तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु।’

पाठकले दुई हजारभन्दा बढी जनालाई रोजगारी अवसर प्रदान गरिने बताए। ‘विभिन्न कम्पनी, उद्योगबाट रोजगारी दिनका लागि माग भएको छ,’ उनले थपे, ‘हामीले त्यहीँ अनुसार रोजगारी दिनका लागि व्यवस्था गरेका छौं। उनीहरू सबै कम्पनीहरूका स्टलहरू पनि रहनेछन्।’

यसैगरी मेला अवधिमा अन्य क्षेत्रमा पनि रोजगारीको अवसर प्रदान हुने उनले बताए। श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पूरा भएको बताए। हालसम्म मेलामा ३५ वटा नीजि क्षेत्रका स्टल रहने छन्। ३५ स्टल बुक भइसकेको र थप स्टलहरू बुक हुने क्रममा रहेको उनले बताए।

मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मेलाको उद्योगमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स सुदुरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन्।

मेलामा वभिन्न कार्यशालाहरु सञ्चालन हुनेछन्। सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तराष्ट्रिय श्रम सम्बन्ध र कानून, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरु सञ्चालन हुनेछन्।

१७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा जेठ २७ र २८ गते सञ्चालन हुने भएको हो।

मेलामा सुरक्षा निकायहरू, आईएलओ, स्वीस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैकर्स एशोसियसन, नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्र, प्रत्येक प्रदेशमा रहेका स्थानीय तहहरू, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिगं एजेन्सि एशोसियसन अफ नेपाल, नेपाल माउन्टेरिगं एशोसियसन, सेभ द चिल्ड्रो, वल्र्डलिंक कम्यूनिकेशन र एभरेष्ट नेटको पनि सहभागीता हुनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...