Radio Unity 92.2MHz

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क व्यक्ति तोकिने !

डडेल्धुरा: डडेल्धुराका सरकारी तथा गैरसरकारी निकायहरूमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क व्यक्ति तोकिने भएको छ।

प्रदेश सरकारका नीति तथा निकायबाट सञ्चालन हुने योजना, प्रशासनिक क्रियाकलाप, कार्यक्रम तथा कार्यस्थललाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मैत्री बनाउन सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यविधि, २०८० मन्त्रिपरिषद्बाट स्वीकृत भएको भइसकेको छ।

उक्त कार्यविधिको मनसाय सबै निकायमा लैङ्गिक समानता तथा समाजिक समावेशिकरण सम्पर्क व्यक्ति तोक्नुपर्ने समेत रहेको छ। सोही विषयमा सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा आइतबार पहिलो बैठक बसेको छ।

बैठकले जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सम्पर्क व्यक्ति नतोकेको भए सम्बन्धित कार्यालयलाई तोक्न अनुरोध गर्ने निर्णय गरेको छ। यसका साथै त्रैमासिक रूपमा बैठक बस्ने पनि निर्णय गरेको सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख कुलराज सोतीले जानकारी दिए।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क व्यक्तिले आफ्नो भूमिका र जिम्मेवारी थाहा पाएर लैससासमैत्री आचरण, व्यवहार गर्ने गराउने तथा लैससासमैत्री कार्यस्थल, शासन, विकास र सेवा प्रवाह गर्नका लागि प्रभावकारी समन्वय, पैरवी र सहजीकरणलगायतका कार्य गर्ने उक्त कार्यविधि उल्लेख छ।

लैङ्गिक समानता तथा सामाजिक समावेशकरण सम्पर्क व्यक्तिको कार्य विवरण तर्जुमा गर्नुको उद्देश्यमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्पर्क व्यक्तिलाई थप जिम्मेवार बताउन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विषयमा समान बुझाई बनाई कार्य सम्पादनमा प्रभावकारिता ल्याउन र शासन, विकास र सेवा प्रवाह, आचरण र कार्यस्थललाई लैससारामैत्री बनाउन रहेको कार्यालय प्रमुख सोतीले बताए।

सम्पर्क व्यक्तिले आफ्नो निकायसँग सम्बन्धित नीति, योजना, कार्यक्रम तर्जुमा गर्दा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्री बनाउन सहयोग गर्नुपर्ने उल्लेख छ। लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने, लैंगिक समानता तथा सामाजिक परीक्षण गर्ने गराउने र सोका लागि आवश्यक बजेट सुनिश्चितता गर्ने, आफ्नो क्षेत्रसँग सम्बन्धित खण्डिकृत तथ्याङ अध्यावधिक गर्ने गराउने पनि उक्त कार्यविधिमा उल्लेख गरिएको छ।

यसका साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्री सेवा प्रवाह र कार्यस्थलका लागि आवश्यकताको पहिचान गर्ने र सो को सम्बोधनका लागि आवश्यक पहल गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणमैत्री कार्य वातावरणका लागि पहल गर्ने वकालत पैरवी गर्ने, आफू कार्यरत रहेको निकायको बजेट कार्यक्रम उपलब्धी प्रभावकारी भए नभएको अनुगमन गर्ने, कार्यस्थलमा हिंसा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने पनि कार्यविधिमा समेटिएको छ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी गुनासो सुन्ने र त्यसको सम्बोधनका लागि पहल गर्ने तथा गुनासो सम्बोधन हुने वातावरण मिलाउने काम पनि सम्पर्क व्यक्तिलाई तोकेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...