डडेल्धुरा: डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीलाई जिल्लाको विकास, पूर्वाधार विस्तार तथा आर्थिक समृद्धिसँग सम्बन्धित १२ बुँदे मागपत्र बुझाएको छ।
संघका अध्यक्ष दीपकबहादुर महता नेतृत्वको टोलीले आइतवार सांसद जोशीलाई मागपत्र बुझाउँदै जिल्लाको उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो।
मागपत्रमा उद्योग वाणिज्य संघको व्यवसायिक प्रतिष्ठान तथा सभा हल निर्माण, बागबजार–उग्रतारा पक्की सडक निर्माण तथा स्तरोन्नति, सबै स्थानीय तहका वडा कार्यालयसम्म पक्की सडक विस्तार तथा बागबजार आसपास बसपार्क निर्माणको माग गरिएको छ।
त्यसैगरी, डडेल्धुरा अस्पतालमा साधनस्रोतसहित दक्ष जनशक्ति र चिकित्सकको उपलब्धता सुनिश्चित गर्न, जिल्ला सदरमुकामनजिक क्रिकेट, फुटबल, भलिबल खेलमैदान निर्माण गर्न तथा टुँडिखेल खेलमैदान सुधार गरी उत्कृष्ट खेलमैदानका रूपमा विकास गर्न आग्रह गरिएको छ।
संघले डडेल्धुरा जिल्लामा वाइन उद्योग स्थापना, हरेक स्थानीय तहमा रहेका शीत भण्डारहरू सुचारु गरी आधुनिक शीत भण्डार निर्माण, राष्ट्रियस्तरको विमानस्थल निर्माण, धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा प्राविधिक कलेज सञ्चालनमा ल्याउनुपर्ने माग पनि अघि सारेको छ।
यस्तै, स्थानीय उत्पादनको बजारीकरण, बढ्दो बसाइँसराइ रोक्न विशेष कार्यक्रम सञ्चालन तथा रोजगारी सिर्जनामा केन्द्रित योजना ल्याउन समेत माग गरिएको छ।
मागपत्र बुझ्दै सांसद डा. जोशीले व्यवसायीहरूको माग जायज रहेको उल्लेख गर्दै जिल्लाको समग्र विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले जिल्लामा निजी क्षेत्रले समेत करिब ५० करोड रुपैयाँसम्म लगानी गरेर फरक व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।
आफ्ना मागहरू कार्यान्वयन भएमा जिल्लाको आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र समग्र समृद्धिमा टेवा पुग्ने अध्यक्ष महताले विश्वास व्यक्त गरे।


