डोटी: डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीमा पाँचदिने तनाव व्यवस्थापन तथा वृहत् योग विज्ञान शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भदौ २ गतेदेखि सुरु भएको उक्त शिविर बिहीबार सम्पन्न भएको हो।
शिविरमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र तथा पतञ्जलि योग समिति डडेल्धुराका योग प्रशिक्षक खेमराज पनेरुले योग गराएका थिए। वर्तमान समयमा योग तथा ध्यानको माध्यमद्वारा तनाव व्यवस्थापन गर्न सकेमा मानिस विभिन्न प्रकारका शारिरिक तथा मानसिक रोगबाट बच्न सक्ने योग प्रशिक्षक पनेरुले बताए।
पाँच दिनसम्म सञ्चालन भएको शिविरमा नियमित योग प्याकेजअन्तर्गत प्रत्येक मानिसले गनुपर्ने योगिङ, जगिङ, सूर्यनमस्कार, प्रणायाम् साथै आसन, खानपिन व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिएको थियो।
शिविरको समापनमा बोल्दै वडाध्यक्ष भरत खड्काले योग शिविरसम्बन्धी कार्यक्रम गाउँपालिकाभर सञ्चालन गर्नका लागि पहल गर्ने बताए। वर्तमान समयमा योग सबैले गर्नुपर्ने उल्लेख गर्दै उनले आफूले शिविरमा सिकेका कुराहरू अरुलाई पनि सिकाउन आग्रह गरे।
शिविर बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन भएको थियो।