Radio Unity 92.2MHz

डडेल्धुरामा अब अनलाइनबाटै नागरिकता सिफारिस

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नागरिकताका लागि सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ।

नागरिकता सेवाका लागि अब वडा कार्यालयबाटै अनलाइनमार्फत सिफारिस गर्ने तयारी भएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलेका अनुसार नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिस गर्नुपर्ने गरी शुक्रवार सबै वडा सचिव र सूचना प्राविधिक अधिकृतहरूलाई तालिम दिइएको छ।

पाँच गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा ५२ वटा वडा कार्यालय छन्। अब सबै वडाले अनलाइनमार्फत सिफारिस गर्न सक्ने छन्।

अहिलेसम्म सबै वडा कार्यालयहरूले हस्तलिखित नागरिकता फाराम भरेर जिल्ला प्रशासन पठाउने गरेका थिए। सेवा सुरु भएसँगै नागरिकताका लागि स्थानीयलाई थप सहज हुने प्रजिअ न्यौपानेको विश्वास छ।

यससँगै जिल्लावासीले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा आफ्नो स्थानीय तहबाटै सिफारिस प्राप्त गर्न सक्नेछन्। यो सेवा गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मार्फत प्रदान गरिएको हो।

सेवाग्राहीको विवरण प्रणालीमा प्रविष्ट गरेपछि सिधै सिफारिस तयार हुनेछ। प्रिन्ट गरिएको सिफारिसमा वडाध्यक्षको सही र छाप लगाएर सीसीआईएमएसमा अपलोड गरिनेछ। त्यसपछि सेवाग्राहीले आवेदन नम्बर प्राप्त गर्नेछन्।

उक्त नम्बरको आधारमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सहज हुनेछ। यो प्रणालीले नागरिकता बनाउने प्रक्रियालाई सहज, सरल र छरितो बनाउनुका साथै झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्यसमेत अन्त्य गर्ने विश्वास गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...