डडेल्धुरा: अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्लाको सरसफाइ गरिएको छ।
शनिबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको समन्वयमा अमरगढी नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, होटल व्यवसायी, स्थानीय क्लब, नागरिकहरूलगायतको समूहले किल्ला सरसफाइ गरिएको हो। किल्लाभित्र जथाभावी रुपमा उम्रिएका भारपात उखेरेर किल्लाको सफाइ गरिएको छ।
अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकाल, प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, अर्जुनवाण गण दहव्यारेकका प्रमुख सेनानी उज्वल थापा, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ, अमरगढीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यय, अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरु, समाजसेवी, जिल्लास्थित पत्रकारको सहभागितामा सरसफाइ गरिएको हो।
किल्लाको संरक्षणका लागि बजेट आएको र डीपीआरअनुसार चालु आर्थिक वर्षमा काम गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्ययले बताए। किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष जैरुले भने किल्लाको संरक्षणमा स्थानीय सरकारले त्यति धेरै चासो नदिएको गुनासो गरे।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले आफ्ना ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्न आफैँ जागरुक हुनुपर्नेमा जोड दिए। चाडपर्वको बेला आन्तरिक तथा बाह्य पर्यटक अमरगढी किल्ला घुम्न आउने भएकाले सरसफाइ गरिएको बताए। आगामी दिनमा पनि सरसफाइलाई निरन्तरता दिइने उनले जानकारी दिए।
सो किल्ला समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा छ। डडेल्धुराको अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो। नगरपालिकाले स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मतहतमा ल्याएको थियो। तर, २०५८ सालमा तत्कालीन माओवादी द्वन्द्वका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो।
त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो। २०५८ देखि २०६६ सालसम्म किल्ला सेना मतहत रह्यो। स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो।
बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्नका लागि सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ। अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ।
हेर्नुस् बाँकी तस्वीरहरू
छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्ला पुगेर नै फर्किन्छन्। विषेशगरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। सडक मार्ग भएर यहाँ जहजै रुपमा पुग्न सकिन्छ।