Radio Unity 92.2MHz

डडेल्धुराकी १४ वर्षीया आरतीको हत्या आरोपित सार्वजनिक

डडेल्धुरा: जिल्लाको अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो।

डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। घटनास्थल निज टेक बहादुर ‘भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’

आवेशमा आउनुको कारण भने अहिलेसम्म नखुलेको डीएसपी श्रेष्ठले बताए। स्थानीय बासिन्दाले भट्टराईको बलात्कारपछि हत्या भएको बताउँदै आएका छन्। तर डीएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताए।

‘जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्विकार गरेपछि आवेशमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन,’ उनले भने।

१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट मिलका लागि हिँडेकी थिइन्। डीएसपी श्रेष्ठका अनुसार स्थानीय नै रहेका भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै थियो। उनले भने, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्। हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको उनले स्वीकारेका छन्।’

त्यसपछि भाग्नका लागि स्याउले बजारसम्म पुगेका भण्डारीले फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ। ‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेको देखिन्छ,’ डीएसपी श्रेष्ठले भने, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेका रहेछन्। शव भने बजार छेउमै फालेर घर गएका रहेछन्।’

प्रहरीले भण्डारीलाई घटना भएको दोस्रो दिन बिहान पक्राउ गरेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...