डडेल्धुरा: बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन्। २४ असोजमा उनी ‘डेलिभरी’का लागि कैलालीको धनगढी गइन्। साथमा उनका श्रीमान् २२ वर्षीया सहदेव बोहरा पनि थिए।
गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती बोहरा पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुसीयाली थियो। तर उनीहरूको खुसी एक दिन पनि टिक्न पाएन।
छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारै जना बाटोमै अस्ताए। दुर्घटनाले पुर्चौडी शोकमा डुबेको पुर्चौंडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्रबहादुर बोहराले बताए।
उनका अनुसार मृतक चारजना तोलीगाउँका हुन्। ‘डेलिभरीपछि घर फर्कंदै थिए। राति दुःखद् घटना भयो,’ वडाध्यक्ष बोहरा भन्छन्, ‘पूरै गाउँ शोकमा छ।’
वडाध्यक्ष खगेन्द्रबहादुरका अनुसार सहदेव भारतको बैंङ्लोरमा काम गर्थें। उनी केही महिनाअघि मात्रै घर फर्किएका हुन्। सहदेवले दुई वर्षअघि गाउँकै कमलासँग बिहे गरेका थिए।
सहदेवका दुई दाई छन्। उनीहरू भारतको बैंङ्लोरमा काम गर्छन्। घटनापछि उनीहरू घर फर्कंदैछन्। सहदेवका आमाबुवा छैनन्। डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।
बसमा सवार पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले निकालेका छन्। कञ्चनपुरका महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। बसमा १७ जना सवार थिए। तीमध्ये १२ जना घाइते छन्। घाइते सबैलाई धनगढी रिफर गरिएको छ।