Radio Unity 92.2MHz

डडेल्धुरामा कार्यरत २२ प्रहरी कर्मचारी पुरस्कृत

 डडेल्धुरा: ६९औं प्रहरी दिवसको अवसरमा डडेल्धुरामा कार्यरत २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। यसरी पुरस्कृत हुने प्रहरी जुनियर अफिसरदेखि जवानसम्म रहेका छन्।

उत्कृष्ट अनुसन्धानतर्फ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमसहित ६ जना प्रहरी पुरस्कृत भएका छन्। असोज २५ गते अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको हत्यासम्बन्धी अनुसन्धानमा उत्कृष्ट काम गरेवाफत उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

यसैगरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी सहायक निरीक्षक रामबहादुर धानुकसहित १२ जना पुरस्कृत भएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। उनका अनुसार राजश्व संकलनतर्फ प्रहरी सहायक निरीक्षक डम्बरबहादुर कार्की, सामुदायिक प्रहरीतर्फ प्रहरी नायब निरीक्षक चन्द्रसिंह धामीसहित दुईजना र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट काम गरेवाफत प्रहरी सहायक हवल्दार दीपकबहादुर बलायर पुरस्कृत भएका छन्।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख अतिथ्यतामा ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराकासाथ डडेल्धुरा प्रहरीले पनि बुधवार आफ्नो स्थापना दिवस मनाएको हो।

अतिथिहरूले प्रहरी स्मारकमा पुष्पहार, पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।

कार्यक्रममा डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...