डडेल्धुराः डडेल्धुराको सदरमुकाममा रहेको माउन्टेन इङ्लिस मिडिया बोर्डिङ स्कुलले कला, विज्ञान प्रदर्शनी, फूड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय प्राङ्गणमा शनिबार सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। विद्यार्थीले बनाएका विभिन्न चित्र तथा परिकार प्रदर्शनीमा राखिएको थियो। विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए।
कक्षागत पढाइसँगै व्यावहारिक ज्ञानमा जोड दिँदै विद्यालयले उक्त कार्यक्रम गरेको प्रिन्सिपल महेश महराले जानकारी दिए। विद्यालयले हरेक वर्ष विद्यार्थी अन्तनिहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यसखाले रचनात्मक कार्य गर्दै आएको उनको भनाइ छ।
फूड फेस्टिवलबाट विद्यार्थीले कुन परिकार कसरी पकाइन्छ, त्यसमा प्रयोग हुने सामग्रीलगायतका व्यावहारिक ज्ञानसमेत पाएको विद्यालयका सञ्चालक समिति अध्यक्ष ईश्वरी जोशीले बताए। उनले भने, ‘यस किसिमको रचनात्मक क्रियाकलापमा विद्यार्थीहरुले बढी ध्यान दिन्छन्।’
विद्यार्थीलाई शैक्षिक र अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँदै असल नागरिक निर्माण गर्ने उद्देश्य लिएको जोशीले बताए। अनुभवी शिक्षक शिक्षिकाको टिमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने, स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी शिक्षण गर्दै आएको उनको भनाइ छ।
प्रमुख अतिथि प्रदेशसभा सदस्य जोशीले विद्यार्थीहरूलाई पाठ्यक्रमको पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यक हुने बताए। उनले विद्यार्थीले कक्षा कोठामा सिकेको सीपलाई व्यवहारमा उतार्दै उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले आयोजना गरिएको फूड फेस्टिवलले व्यावसायी वा स्वरोजगार बन्न प्रेरित गरेको बताए।
कार्यक्रममा बोल्ने अधिकांश वक्तहरूले विद्यालयले गरेको कामप्रति खुसी हुँदै आझै यस्ता कार्यक्रम गरी विद्यार्थीको व्यक्तिगत जीवानलाई थप प्रभावकारी बनाउनमा ठूलो सहयोग पुग्ने आशा व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। फूड फेस्टिवलमा राखिएका खानेकुरा विद्यार्थीले स्टलमार्फत विक्रीसमेत गरेका थिए। ग्राहक उनीहरूकै अभिभावक थिए।