Radio Unity 92.2MHz

डडेल्धुराको अमरगढीमा स्थानीय रैथाने खाद्य परिकार मेला

डडेल्धुरा: आधुनिक र प्रशोधित खाद्यवस्तुको बढ्दो प्रयोगले परम्परागत खानपान संस्कृति ओझेलमा पर्दै गइरहेका बेला डडेल्धुराको अमरगढी नगरपालिकामा स्थानीय रैथाने खाद्य परिकार मेला आयोजना गरिएको छ।

स्थानीय रैथाने खाद्य परिकार मेलाले स्वस्थ जीवनशैली, पोषणयुक्त खानपान र सांस्कृतिक पहिचान संरक्षणको सन्देश दिएको छ। महिला उद्यमी संघ डडेल्धुराको आयोजनामा शनिबार सम्पन्न मेलाले स्थानीय उत्पादन र परम्परागत स्वादप्रति समुदायको आकर्षण पुनः जागृत गराएको छ ।

अमरगढी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न मेलामा सुदूरपश्चिम प्रदेशको मौलिक पहिचान झल्काउने १५ भन्दा बढी रैथाने परिकार प्रदर्शन तथा स्वादका लागि राखिएका थिए। स्थानीय किसान र महिला उद्यमीले आफ्नै खेतबारीमा उत्पादन गरिएका अन्नबालीबाट तयार गरेका परिकारले मेलामा आउने आगन्तुकको मन जितेका थिए।

मेलाको प्रमुख आकर्षणका रूपमा मालपुवा, मकैको खिर, कोदोको मम, मासको बट्कु, मासको दाल लगाएको माणा (रोटी), कोदो–चामलको सेलरोटी, तिलको बुक्का, पञ्चदालको क्वाँटी, दही, मोही तथा विभिन्न प्रकारका अचार रहेका थिए। परम्परागत स्वादले भरिपूर्ण यी परिकारले एकातिर पुराना पुस्तालाई विगतको सम्झना दिलाए भने अर्कोतर्फ नयाँ पुस्तालाई स्थानीय खाद्य संस्कृतिको महत्व बुझाउने अवसर समेत प्रदान गरेको छ।

मेलामा सहभागीहरूले परिकारको स्वाद चाख्नुका साथै रैथाने बालीको पोषण मूल्य, स्वास्थ्य लाभ र यसको संरक्षणको आवश्यकताबारे जानकारी लिएका थिए। स्थानीय उत्पादनबाट तयार हुने खानाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता परिकारको उपभोग बढाउनुपर्ने मेलाका सहभागीहरूले बताए।

अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश भण्डारीले स्थानीय खाद्य परिकारको संरक्षण र प्रचार–प्रसारलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले महिला उद्यमी संघलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको बताए। मेलामा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, कृषि प्राविधिक, किसान समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले स्थानीय उत्पादनप्रतिको बढ्दो बेवास्ताप्रति चिन्ता व्यक्त गरे। उनले बजारमा पाइने प्रशोधित तथा प्याकेटबन्द खाद्यवस्तुको प्रयोग बढ्दै जाँदा पोषणयुक्त स्थानीय खाद्यान्न ओझेलमा परेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गरे।

“हामीले आफ्नै खेतबारीमा उत्पादन हुने गुणस्तरीय र पोषणयुक्त खाद्यान्नलाई बिस्तारै बिर्सिरहेका छौं । स्थानीय उत्पादनको उपयोग बढाएर स्वास्थ्य र अर्थतन्त्र दुवैलाई बलियो बनाउन सकिन्छ,” उनले भने ।

महिला उद्यमी संघ डडेल्धुराकी पूर्वअध्यक्ष पार्वती देउवाले संघले विगतदेखि नै स्थानीय रैथाने खाद्य परिकारको संरक्षण र व्यवसायिक प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएको जानकारी दिइन् । २०७३ सालमा १० जना महिलाको पहलमा स्थापना भएको संघले अहिले विभिन्न मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रमहरूमा स्थानीय परिकार उत्पादन तथा बिक्री गर्दै आएको छ । साथै सदरमुकामस्थित तुफानडाँडा बजारमा होटल सञ्चालन गरी रैथाने स्वादलाई व्यवसायिक रूपमा विस्तार गरिरहेको समेत उनले बताइन्।

सहभागीहरूले रैथाने बाली र परिकार केवल खानाका सामग्री नभई स्थानीय संस्कृति, परम्परा र समुदायको पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको बताएका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरी नयाँ पुस्तालाई स्थानीय खानपान संस्कृति र कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

अमरगढीमा सम्पन्न यो मेला केवल स्वादको उत्सव मात्र नभई स्थानीय उत्पादनको संरक्षण, किसानको आम्दानी वृद्धि, महिला उद्यमशीलताको प्रवद्र्धन तथा स्वस्थ जीवनशैलीको अभियानका रूपमा समेत स्थापित भएको छ। मेलाले रैथाने खाद्य संस्कृतिको पुनर्जागरणमार्फत आत्मनिर्भर कृषि र समृद्ध समाज निर्माणको मार्ग प्रशस्त गर्ने सन्देश दिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...