डडेल्धुरा: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अबको पाँच वर्षभित्र डडेल्धुरा अस्पताल पाँच सय शय्याको हुने बताएका छन्। बिहीबार अस्पतालको अनुगमन, निरीक्षण र हेमोडायलाइसिस सेवाको उद्घाटनपछि बोल्दै उनले सो कुरा बनाएका हुन्।
उनले संघीय सरकार मातहतमा रहेका अस्पताल अब कुनै पनि पाँच सय बेडभन्दा तल नहुने बताए। डडेल्धुरा अस्पताल अहिले एक सय शय्यामा सञ्चालन भइरहेको छ।
यसका साथै उनले डडेल्धुरा अस्पताल तीन सय बेड बनाउनका लागि अस्थायी दरबन्दी स्वीकृत भइसकेको पनि जानकारी दिए। ‘पाँच वर्षभित्रमा सबै संघीय अस्पताललाई पाँच सय शय्याको बनाइन्छ। डडेल्धुरा अस्पताल पनि पाँच सय बेडको बन्छ र पाँच सय बेड बराबरकै ओएनएम हुन्छ,’ उनले भने, ‘ओएनएम भएपछि अस्थायी दरबन्दी स्थायीमा परिणत हुन्छ।’
उनले सबैको साथ सहयोग भएमा डडेल्धुरा मेडिकल कलेजमा आगामी असारमा ५० जना एमबीबीएस पढ्ने विद्यार्थी भर्ना हुने बताए। ‘यहाँ मेडिकल कलेज र तीन बेड सञ्चालन गर्न अप्ठ्यारो पनि छैन सजिलो पनि छैन। तर यहाँ हामी मेडिकल कलेज चलाउन सक्छौँ भन्ने मेरो पनि आत्मविश्वास छ,’ मन्त्री पौडेलले भने, ‘तपाईंहरूको साथ प्राप्त भयो भने यहाँ पन असारमा ५० जना एमबीबीएसका विद्यार्थी भर्ना हुनेछन्।’
यसका साथै मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको स्वीकार गर्दै संघीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रष्ट पारे।
उनका अनुसार यस विषयमा अस्पताललाई संघ मातहत राख्ने कि प्रदेश मातहत राख्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक छ। यसका लागि स्थानीय तह र राजनीतिक दलहरूले आफ्नो धारणा बनाउनुपर्ने उनको भनाइ थियो।
‘यदि स्थानीय तहहरूले आधारभूत अस्पताल स्थापना गर्ने हो भने अहिले देखिएका धेरै समस्या समाधान हुन्छन्,’ उनले थपे, ‘आधारभूत अस्पतालका लागि भवन बनेका ठाउँमा मन्त्रालयले बजेटको व्यवस्था गर्छ। साथै छात्रवृत्तिबाट अध्ययन गरेका चिकित्सकलाई त्यही ठाउँमा पठाइन्छ।’
डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमाबापत अझै ६ करोड रुपैयाँ पाउन बाँकी रहेको जानकारी दिए। उनले अस्पतालका आएका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई खुसी बनाएर टिकाउन सबै लाग्नुपर्ने बताए।


