Radio Unity 92.2MHz

लिजा नतिजामा डडेल्धुरामा प्रथम बन्यो अजयमेरु गाउँपालिका

डडेल्धुरा: डडेल्धुरामा रहेका सात वटा स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका सबैभन्दा धेरै अंक ल्याएर स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रथम भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ८३.२५ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार अजयमेरु जिल्लामा पहिलो बनेको हो।

मन्त्रालयको नतिजाअनुसार आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकाले समान अंक पाएका छन्। आलितालले ८१.२५ अंक पाउँदा भागेश्वरले पनि ८१.२५ नै पाएको छ। दुवै पालिका संयुक्तरूपमा जिल्लामा द्वितीय भएका छन्।

तेस्रो स्थानमा गन्यापधुरा गाउँपालिका रहेको छ। उसले ७५.५० अंक प्राप्त गरेको छ। यसैगरी परशुराम नगरपालिकाले ७५.२५, अमरगढी नगरपालिकाले ७३.७५ र नवदुर्गा गाउँपालिकाले ७३.२५ अंक पाएको छ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा शुसासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरूको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्दै आएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरणलगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...