Radio Unity 92.2MHz

जिप्रका डडेल्धुराले भन्यो– सभ्य भएर चाडपर्व मनाउनू, मदिरा सेवन तथा जुवातास नखेल्नू

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सभ्य, भव्य र हर्ष उल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ। जिप्रका डडेल्धुराको शुक्रवार एक विषेश अनुरोध जारी गर्दै समाजमा आपसी सद्भाव तथा हातेमालो गरी सभ्य नागरिकको परिचय दिन आग्रह गरेको हो।

चाडपर्व मनाउने बहानामा मादक पदार्थ, लागूऔषध सेवन तथा जुवा, तास खेल्ने तथा खेलाउने कार्य नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। दशैँ, तिहार तथा छठ पर्वको शुभकामना दिँदै जिप्रका डडेल्धुराले घर तथा कोठा छोडेर जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकी, स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरेर जान आग्रह गरेको छ।

आफ्नो घरको कोठामा भाडामा बस्ने मानिसहरुको स्पष्ट फोटोसहितको परिचय खुल्ने अभिलेख राख्न पनि प्रहरीले सुझाव दिएको छ। मेला, पर्व तथा भिडभाड हुने स्थानहरुमा चोरी, पकेटमार तथा गरगहना लुट्न सक्ने हुँदा चनाखो रहन र आतिसबाजी, पटकाहरूले मानवीय, भौतिक, वातावरणीय क्षति एवं आगजनी भई जनधनको क्षति पुग्ने भएकोले त्यस्ता वस्तु प्रयोग नगर्नु आग्रह गरिएको छ।

यसका साथै जिप्रका डडेल्धुराले चाडपर्वको समयमा भिडभाड हुने स्थानमा महिला हिंसा तथा यौन दुव्र्यवहारजस्ता आपराधिक क्रियाकलाप हुनसक्ने हुँदा यस किसिमका अवाञ्छित क्रियाकलाप भएमा तत्काल नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ।

रातिको समयमा जथाभावी हिँड्ने, जम्मा हुने कार्यहरू नगर्न तथा आफ्नो गाउँ, टोलमा अपरिचित शङ्कास्पद व्यक्ति देखेमा वा रातिको समयमा होहल्ला गरिरहेका व्यक्तिहरू देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।

यस्तै, सवारी साधनहरू चलाउँदा सवारी ऐन, नियमको पूर्णरूपमा पालना गर्न तथा क्षमताभन्दा बढी यात्रु नबोक्न र सवारी चालक अनुमतिपत्र बिना सवारी साधन नचलाउन पनि प्रहरीको अनुरोध छ। सार्वजनिक सवारीहरुमा यात्रा गर्दा तोकिएकोभन्दा बढी भाडा लिएमा वा टिकटसम्बन्धी कुनै समस्या भएमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरिएको छ। कुनै पनि समस्या परेमा नजिकको प्रहरीलाई वा १०० नम्बरमा खबर गर्न पनि जिप्रका डडेल्धुराले अनुरोध गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...