डडेल्धुरा: परशुराम नगरपालिका–११ सलेतामा ‘डम्बर धामी स्मृति वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ। कृष्णकुञ्ज युवा समाजको आयोजनामा कार्तिक १ गतेदेखि स्वर्गीय इन्जिनियर डम्बर धामीको सम्झनामा भलिबल प्रतियोगिता हुने भएको हो।
कृष्णकुञ्ज युवा समाजका संस्थापक धामीको गतवर्ष दैजी–जोगबुडा सडकमा जिप दुर्घटनामा परेर ज्यान गएको थियो। धामीको सम्झनामा साथै नेपालीहरूको महान् चाड शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजक युवा समाजका अध्यक्ष प्रकाशसिंह धामीले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार १११ रुपैयाँ, द्वितीयले ९ हजार १११ र तृतीय हुने टिमले ५ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
उत्कृष्ट खेलाडीलाई ५०५, उत्कृष्ट स्पाइकरलाई ५०५ र अनुशासित खेलाडीलाई ५०५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क २ हजार पाँच सय तोकिएको र टिम दर्ता असोज ३१ गते साँझ ६ बजेसम्म गराइसक्नुपर्ने अध्यक्ष धामीले बताए।
प्रतियोगितामा परशुराम–११, स्थायी बसोबास भएका खेलाडीहरूले मात्रै सहभागी हुन पाउनेछन्, खेलाडीले बसोबास खुल्ने कागजात जन्मदर्ता, नागरिकता आवश्यक परेमा पेश गर्नुपर्ने आयोजकले जनाएको छ।
