डडेल्धुरा: अजयमेरु गाउँपालिका–२ चमडामा कार्तिक १५ गतेदेखि ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । भदौ १८ गतेदेखि २१ गतेसम्म हुने भनिएको महोत्सव प्रतिकूल मौसमका कारण स्थगित भएको थियो ।
स्थगित भएको उक्त अब महोत्सव कार्तिक १५ देखि १८ गतेसम्म सञ्चालन हुने आयोजक अजयमेरु गाउँपालिका–२ नम्बर वडा कार्यालयले जनाएको छ।
वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टका अनुसार ऐतिहासिक पर्यटकीय स्थल अजयमेरु कोटलगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो।
अजयमेरुकोटको पुनर्निर्माणको कार्य भइरहेकाले सोको जानकारीसहित व्यापक प्रचारप्रसार गर्न, अनारखेतीसँगै अजयमेरुकोट घुम्ने गन्तव्य निर्माण गर्न, अजयमेरु गाउँपालिका भित्रका सबै धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलको जानकारी गराउने उद्देश्यले पनि महोत्सव गर्न लागिएको उनले बताए।
यसका साथै यस क्षेत्रमा सम्भावनामा रहेको कृषि क्षेत्रको उत्पादनलाई बजारीकरण, भटमास उत्पादनको पकेट क्षेत्र भएकाले उक्त बालीमा स्थानीय जनताको सहभागीतामा उत्पादन वृद्धि गराउन तथा स्थानीय कला संस्कृति गौरा नाच, चैत, फाग, हुणकेली जस्ता मौलिक संस्कृतिको प्रदर्शन गरी स्थानीय युवाहरूमा हराइरहेको कला संस्कृतिप्रतिको भावनामा सकारात्मक परिवर्तन ल्याउन पनि महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ।
चार दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ। दर्शकहरूले निःशुल्क रूपमा आएर महोत्सव अवलोकन गर्न पाउनेछन्। महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृति प्रस्तुति रहने आयोजकले जनाएको छ। प्रत्येक दिन एकजना राष्ट्रियस्तरको कलाकारको महोत्सवमा प्रस्तुति रहने वडाध्यक्ष भट्टले जानकारी दिए।
महोत्सवमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ।
खेलकुदप्रति युवाहरूको साकारात्मक भावनाको विकास गर्न तथा शारिरिक, मानसिक स्वास्थ्य तन्दुरस्त राखेर भलिबल खेलका प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महोत्सवमा भलिबल प्रतियोगिता पनि गर्न लागिएको हो। प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ राखिएको छ।
यसका साथै खुल्ला भेट्रान कप भलिबल पनि हुने भएको छ। जसमा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार र तृतीय पुरस्कार १० हजार रुपैयाँको व्यवस्था गरिएको वडाध्यक्ष भट्टले बताए।
खेल जगतलाई पनि माथि उकास्नमा महोत्सव कोसेढुङ्गाके रूपमा सावित हुने आयोजकको विश्वास छ। राष्ट्रिय रूपमा ख्याति कमाउन सफल खेलाडीको भलिबल प्रतियोगिताले स्थानीय प्रतिभामा जोश जाँगर भर्नुका साथै खेलजगतप्रतिको लगावमा उल्लेख्य प्रगति गर्ने वडाध्यक्ष भट्टको दाबी छ। महोत्सव सहश्रलिङ्ग मावि चमडाको खेलमैदानमा हुनेछ।