डडेल्धुरा: महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेल्धुरा सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम भएको छ।
महेन्द्र माविको आयोजनामा शुक्रवार भएको विज्ञान प्रदर्शनी प्रतियोगितामा विज्ञान प्रवद्र्धन कार्यक्रम लागू भएका सुदूरपश्चिमका ९ जिल्लाका १२ विद्यालयमध्ये ९ विद्यालय सहभागी थिए।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको महेन्द्र माविले नगद पुरस्कार २० हजार र प्रमाणपत्र पाएको छ। प्रतियोगितामा दुर्गालक्ष्मी मावि अत्तरिया, कैलाली द्वितीय, महेन्द्रनगर मावि कञ्चनपुर तृृतीय र भानोदय मावि, बाजुरा सान्त्वना भएको महेन्द्र माविका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिए।
उनका अनुसार द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कारसँगै प्रमाणपत्र पनि पाएका छन्।
विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्याक सुरेन्द्रसिंह ऐरले बताए । पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको उल्लेख गर्दै उनले विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी रहेका थिए।
प्रतियोगितामा मणिलेक मावि बैतडी, महेन्द्र मावि दार्चुला, सुनकुडा मावि बझाङ, वीरेन्द्र मावि बैतडी र धनगढी नमूना मावि, कैलालीको पनि सहभागिता रहेको थियो।






