Radio Unity 92.2MHz

डडेल्धुरामा मनाइयो एघारौँ उद्योग दिवस

डडेल्धुरा: डडेल्धुरामा एघारौँ  उद्योग दिवस मनाइएको छ। मंगलवार घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ एक कार्यक्रम गरी दिवस मनाइएको हो।

घरेलु तथा साना उद्योगको प्रवद्र्धन, विकास र सीप अभिवृद्धि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच छलफल गरिएको थियो। यसका साथै उद्यमीहरूलाई खादा लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा भएको प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो। गत आर्थिक वर्षमा उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत १४ उद्योगले अनुदान पाएका छन्।

१५ उद्योगलाई प्रविधि हस्तान्तरण, एक/एक उद्योगलाई ठेकीपारा प्रविधि सहयोग तथा उखु खेती प्रवद्र्धन अनुदान दिइएको कार्यालय प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार ०८१/८२ मा १०७ जनाले विभिन्न तालिम प्राप्त गरेका छन्। जिल्लामा उद्योग दर्ता हालसम्म ४ हजार ७८४ र वाणिज्य दर्ता २ हजार ७३९ वटा रहेको उनले बताए।

कार्यालय प्रमुख भण्डारीले उद्योगीहरूले अन्य धेरैलाई रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै उद्योग क्षेत्र सबल नभएसम्म देश समृद्ध नहुने बताए। जिल्लामा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन क्षेत्रका प्रमुख चुनौतीहरूका रूपमा लघु उद्योगसम्बन्धी नीतिहरू पूर्णरूपमा उद्यममैत्री नहुनु, नीतिनिर्माणमा पर्याप्त गृहकार्यको कमी रहेको उनले बताए।

यसका साथै नीति कार्यान्वयनमा जटिलता र प्रभावकारिताबारे छलफल नहुनु तथा प्रदेश तथा स्थानीय तहमा उद्योग प्रवद्र्धनका ठोस नीति नबन्नु पनि चुनौती नै रहेको उनको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि डडेल्धुरा उद्योग वाणिज्य संघका महासचिव विष्णुराज जोशीले उद्योग सञ्चालन गर्नु सजिलो नभएको बताउँदै उतार–चढाव आए पनि व्यवसायलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उद्योग वाणिज्य संघ सहकार्य र सहयोगका लागि सधैं तयार रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा उद्यमी डम्बर साउँदले औद्योगिक संस्कारको विकास गर्नुपर्ने बताए। उनले सीप, सिकाइ तथा व्यवसायलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। उद्यमी बन्न सीप, अनुशासन र लगनशीलता आवश्यक रहेको औंल्याए।

कार्यक्रमका सहभागीहरूले उद्योग विकासलाई दिगो अर्थतन्त्रको आधारका रूपमा स्थापना गर्न सीप विकास, नीति कार्यान्वयनमा सुधार, वित्तीय पहुँच विस्तार तथा सरकारी–निजी सहकार्य सुदृढ गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...