Radio Unity 92.2MHz

शान्ति–सुरक्षा र सेवा प्रवाहमा कसैसँग सम्झौता नगर्ने सिडिओ कोइरालाको प्रतिबद्धता

डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लाको शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार जिल्लास्थित पत्रकारहरूसँग आयोजित परिचयात्मक कार्यक्रममा हालै सरुवा भएका आएका सहसचिव सिडिओ कोइरालाले सरकारी सेवा प्रवाह सुस्त हुने अवस्था हटाउने बताए। जिल्लामा देखिएका विभिन्न चुनौतीहरू समाधान गर्न प्रशासन पूर्णरूपमा सक्रिय रहने उनको भनाइ थियो।

आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी तयारी तीव्ररूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित निर्वाचन गराउन सबै संयन्त्र तयार पारिने बताए।

विकास निर्माणका मुद्दामा स्थानीय तहसँग समन्वय गरेर काम गरिने सिडिओ कोइरालाले बताए। जिल्लामा लागुऔषध नियन्त्रण गर्न पनि प्रहरीसँग मिलेर प्रशासनले विशेष पहल गर्ने उनले उल्लेख गरे।

पत्रकारको भूमिकालाई लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड भन्दै उनले मिडिया–मैत्री प्रशासन बनाउने प्रतिबद्धता उनले जनाए। ‘शान्ति–सुरक्षामा राजनीति चल्दैन, सूचना प्रवाह पारदर्शी बनाइन्छ,’ उनले भने। पत्रकारहरूले सिडिओ कोइरालालाई मिडियामैत्री बन्न आग्रह गरेका थिए।

सार्वजनिक सरोकारका मुद्दामा नागरिकलाई समयमै सूचना उपलब्ध गराउने वातावरण मिलाउने बताउँदै उनले ‘जनताको शासक होइन, सेवकको भूमिकामा प्रशासन’ रहने उल्लेख गरे। सहसचिव कोइरालालाई गृह मन्त्रालयले यहीँ मंसिर १० गते डडेल्धुरा सरुवा गरेको थियो।

 

सम्बन्धित पाेष्टहरु
Loading...