डडेल्धुरा: डडेल्धुरामा ३८औं विश्व एड्स दिवस मनाइएको छ। स्वास्थ्य कार्यालयको आयोजनामा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तर गरौँ’ भन्ने नारासहित जिल्लास्थित सरोवारवालासँग अन्तरक्रिया गरी दिवस मनाइएको छ।
जिल्लामा हाल १२५ जना एचआईभी संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये ७३ महिला र ५२ पुरुष रहेका छन्।
स्थानीय तहअनुसार संक्रमित संख्या सबैभन्दा बढी परशुराम नगरपालिका ३८ जना, अमरगढी नगरपालिकामा १५, आलिताल गाउँपालिकामा १२, नवदुर्गा गाउँपालिकामा ११, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकामा ८/८ जना तथा अजयमेरु गाउँपालिकामा ७ जना रहेको जनस्वास्थ्य अधिकृत अमृत विष्टले बताए।
स्वास्थ्य कार्यालयका अनुसार धेरै संक्रमितले समयमै औषधि (एआरटी) सेवन नगर्ने भएकाले उपचारमा चुनौती बढिरहेको छ। औषधि छाड्ने प्रवृत्तिले प्रतिरोधात्मक क्षमता झन् कमजोर बनाउने र नयाँ संक्रमण रोकथाममा पनि असर पर्ने चिकित्सकहरू बताउँछन्।
विशेषगरी आर्थिक अवस्था कमजोर भएकाले धेरै संक्रमितहरू नियमित सेवामा पहुँचबाट टाढा रहेको बताइन्छ। स्थानीय तहहरूले एचआईभी संक्रमितलाई आय–आर्जनमूलक कार्यक्रमसँग जोडेर आत्मनिर्भर बनाउनु आवश्यक रहेको सरोवारवालाहरूको भनाइ थियो
उनीहरूका अनुसार आर्थिक सुदृढीकरण भएमा उपचारमा निरन्तरता दिन सहज हुने र सामाजिक दवाव पनि कम हुने विश्वास गरिएको छ। नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक छ।

