डडेल्धुरा: सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको १० वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ।
पश्चिम नेपाल मिडिया अभियानद्वारा वि.सं २०७२ मा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भई ०७२ मंसिर १६ गतेदेखि प्रशारण शुभारम्भ गरेको रेडियो युनिटी आज मंगलवारदेखि एघारौँ वर्षमा प्रवेश गरेको हो।
अमरगढी नगरपालिका–५, खलंगाबाट पाँच सय वाट क्षमतामा प्रशारण भइरहेको रेडियो युनिटी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला, कर्णाली प्रदेशका दैलेख–कालिकोटसम्म तथा भारतका केही सीमावर्ती क्षेत्रमा समेत स्पष्टरूपमा सुन्न सकिन्छ। साथै इन्टरनेट अनलाइनबाट युनिटी खबरबाट पनि विश्वभर सुन्न सकिन्छ।
रेडियो पारखी श्रोताहरूको मन जित्न सफल रेडियोले सुदूरको संस्कृति रितिरीवाज संरक्षण गर्ने कार्यक्रम तथा समाचारमूलक कार्यक्रमहरू श्रोताहरूको माझमा प्रस्तुत गर्दै आइरहेको छ।
स्थापना कालदेखि नै समुदायको आवाजलाई प्राथमिकता दिँदै आएको रेडियो युनिटीले दशक अवधिमै ठूलो संख्यामा श्रोता आकर्षित गर्न सफल भएको छ। सुदूरपश्चिमको संस्कृति, परम्परा र रीतिरिवाज संरक्षणमा केन्द्रित कार्यक्रमदेखि लिएर समयानुकूल समाचार, संवाद, बहस तथा युवा, महिला, कृषि, शिक्षा, स्वास्थ्य केन्द्रित कार्यक्रमहरू युनिटीका प्रमुख आकर्षण बनेका छन्।
एघारौँ वर्षमा प्रवेशका अवसरमा रेडियोले श्रोता, विज्ञापनदाता, सहयोगी संस्था तथा अभियन्ताहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। वर्तमान समयमा रेडियो सञ्चालन गर्न चुनौतीपूर्ण भएपनि सूचना प्रवाह, सामाजिक सचेतना, संस्कृतिको रक्षा, विपद्–प्रतिक्रिया, स्थानीय विषयको उठान तथा आवाजहीनको आवाज बन्ने दायित्व रेडियोका काँधमा रहेको रेडियो सञ्चालक समिति अध्यक्ष मुकेश भट्टले बताए। यिनै जिम्मेवारीलाई अझ पूर्ण र प्रभावकारी बनाउन आगामी दिनमा प्रविधि, सामग्री र स्रोत–साधनसमेत मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
रेडियो युनिटीाई यहाँसम्म पुर्याउन सहयोग गर्ने श्रोता, विज्ञापनदता, शुभचिन्तकलगायत रेडियोलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अध्यक्ष भट्टले आगामी दिनमा पनि सहयोगको अपेक्षा पनि व्यक्त गरे।
‘सबैको साझा आवाज’ भन्ने मूल भावना बोकेको रेडियो युनिटीले आगामी दिनमा पनि स्थानीय मुद्दा, विविध आवाज र सांस्कृतिक पहिचानलाई प्राथमिकताका साथ प्रसारण जारी राख्ने रेडियोका स्टेशन म्यानेजर उत्तर बिष्टले बताए।
समयक्रमानुसार कार्यक्रम र समाचारलाई समेत परिमार्जन र विकसित गर्दै लगेको तथा आवश्यकताअनुसार थप परिमार्जन एवं परिष्कृत गर्दै लैजाने उनको भनाइ छ।
उनले भने, ‘वर्तमान समयको प्रविधि र सूचना प्रवाहको बदलिँदो परिवेशलाई मध्यनजर गर्दै रेडियो युनिटीले अब आफ्ना सामग्रीहरूलाई केवल रेडियो सेटमै सीमित नराखी विभिन्न डिजिटल प्लेटफर्महरूबाट पनि उपलब्ध गराउनेछ,’