Radio Unity 92.2MHz

शैक्षिक गुणस्तर सुर्धान विद्यालय, अभिभावक र स्थानीय सरकारबीच समन्वय अपरिहार्य

डडेल्धुरा: शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, अभिभावक र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

लू निभाः बाल सरोकार समूह डडेल्धुराद्वारा सञ्चालित ‘शिक्षा र संरक्षणमा समुदायको नेतृत्व’ परियोजनाको शुक्रबार नवदुर्गा गाउँपालिकामा आयोजित पालिकास्तरीय समीक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा बालबालिकाको शिक्षा र संरक्षणमा अभिभावकको भूमिका अझ सक्रिय हुनुपर्ने, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच सहकार्य आवश्यक रहेको तथा स्थानीय सरकारले नीतिगत र कार्यक्रमगत सहयोग बढाउनुपर्नेमा जोड दिइएको छ।

समीक्षा कार्यक्रममा परियोजनाबाट भएका गतिविधि, प्राप्त उपलब्धि र चुनौतीबारे छलफल गरिएको थियो । सहभागीहरूले परियोजनाले समुदायस्तरमा सकारात्मक प्रभाव पारेको औँल्याएका छन्। परियोजना जिल्लाको भागेश्वर गाउँपालिका–४ र ५ तथा नवदुर्गा गाउँपालिका–१ र २ का २३ सामुदायिक विद्यालयमा कार्यान्वयन भइरहेको छ।

सन् २०२३ देखि सुरु भएको परियोजनाको उद्देश्य बालिका, दलित तथा अपाङ्गता भएका बालबालिकाको शिक्षा र संरक्षणको अधिकार सुदृढीकरण गर्ने रहेको छ। नवदुर्गा–१ स्थित भैरव प्रावि सुनकोटका प्रधानाध्यापक चक्रबहादुर बोहराले लु निभाःको सहयोगले शैक्षिक सुधारमा सहयोग भएको बताए।

अभिभावकको सहभागिता अझै मजबुत बनाउँदै कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए। उनले भने, ‘आगामी दिनमा संस्थाले विषयगत शिक्षकका लागि पुनर्ताजगी तालिमको व्यवस्था गर्नुपर्दछ।’ स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायको सहभागितामा परियोजनाले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव देखाउन थालेको छ।

परियोजनाको प्रमुख उपलब्धिमध्ये पालिका स्तरमा बाल कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण र कार्यान्वयन महत्वपूर्ण मानिएको छ। यसले बालबालिकासम्बन्धी कार्यक्रमलाई दीगो बनाउने आधार तयार गरेको छ।

त्यसैगरी, शिक्षाको गुणस्तर र बाल सहभागिता प्रवद्र्धन, बाल क्लब सदस्यहरूको क्षमता विकास तथा बाल संरक्षणका लागि अभिभावकको चेतना अभिवृद्धि भएको लू निभाःका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरले बताए।

उनका अनुसार जोखिममा परेका विद्यार्थीलाई शैक्षिक सहायता प्रदान गरिँदा विद्यालय निरन्तरता दरमा सुधार आएको छ। शिक्षकहरूका लागि गरिएको क्षमता विकास तालिम र शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगले कक्षाकोठामा शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी बनेको छ। परियोजनाले विपन्न परिवारको आयआर्जनमा सुधार ल्याउनुका साथै अपाङ्गता भएका बालबालिकाको पहिचान गरी उनीहरूलाई समेट्ने वातावरण तयार गरेको छ।

यद्यपि केही चुनौतीहरू कायमै रहेको कार्यक्रम संयोजक ऐरले बताए। अपेक्षाअनुसार शैक्षिक सामग्री वितरण हुन नसक्नु, बाल संरक्षणमा अभिभावकको भूमिका अपेक्षाकृत कमजोर रहनु र विद्यालयमा निर्माण गरिएका शैक्षिक सामग्रीको पर्याप्त प्रयोग नहुनु प्रमुख चुनौतीका रूपमा देखिएको उनको भनाइ छ।

नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले पालिकाका पाँचवटै वडामा कार्यक्रम लागू गर्न लू निभाःलाई आग्रह गरे। लू निभाःको यस परियोजनाले शैक्षिक सुधारमा प्रभाव परेको उल्लेख गर्दै उनले पालिका स्तरबाट पनि पहल भइरहेको बताए।

कार्यक्रममा लू निभाः बाल सरोकार समूहका केन्द्रीय कार्यक्रम संयोजक कृष्णगोविन्द महर्जनले सिकाइ उपलब्धिमा सुधार भइरहेता पनि विद्यालयमा विद्यार्थी घट्नेदर बढिरहेको बताए। शैक्षिक गुणस्तरलाई कसरी थप अगाडि बढाउन सकिन्छ भन्ने विषयमा सबै मिलेर अघि बढ्नुपर्ने उनको तर्क थियो।

स्थानीय तह, विद्यालय र अभिभावकबीचको सहकार्य अझ बलियो बनाउँदै लैजान सके बालबालिकाको शिक्षक उपलब्धि बढ्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...