Radio Unity 92.2MHz

अमरगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा महेन्द्र माविलाई ह्याट्रिक उपाधि

डडेल्धुरा: जिल्ला सरदुमकाम खलंगामा रहेको महेन्द्र माविले लगातार तेस्रोपटक अमरगढी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ।

बुधवार सम्पन्न छैटौँ नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै महेन्द्र माविले ह्याट्रिक उपाधि उचालेको हो। उसले २५ स्वर्ण, १७ रजत र ७ कास्य गरी कूल ४९ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो।

उपाधिसँगै महेन्द्रले ३० हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ। नगर प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकालले विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरलाई शिल्ड हस्तान्त्ररण गरे।

प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ। माउन्टेनले १६ स्वर्ण, १५ रजत र ११ कास्य गरी कूल ४२ पदक जितेको छ। उसले दोस्रो स्थान हासिल गरेबाफत २५ हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तले जानकारी दिए।

उनका अनुसार प्रतियोगितमा घटाल मावि नुवाकोट तृतीय भएको छ। तृतीय स्थान हासिल गरेको घटाल माविले ४ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल ९ पदक जित्यो। घटालले २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ।

अमरगढी नगरपालिकाको आयोजना सोमवारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो।

प्रतियोगिताका खेलहरू टुँडिखेलमा खेलाइएको थियो। नगरस्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लास्तरीय रनिङ शिल्डका लागि छनोट गरिएको शिक्षा शाखा अधिकृत पन्तले बताए।

हेर्नुहोस् पदक तालिका– 

सम्बन्धित पाेष्टहरु
Loading...