डडेल्धुरा: अजयमेरु गाउँपालिकास्तरीय चौथो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बालकल्याण माध्यमिक विद्यालय, पुइलेकले जितेको छ।
बुधवार सम्पन्न गाउँपालिकास्तरीय उपराष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गर्दै बालकल्याण माविले शिल्डमाथि कब्जा जमाएको हो। उसले ८ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्यो।
शिल्डसँगै बालकल्याणले नगद २० हजार, ट्रफी र प्रमाणपत्र पनि पाएको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्क्ष बसन्ती पालले संयुक्तरूपमा विद्यालयलाई शिल्ड हस्तान्त्ररण गरे।
प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित शहस्त्रलिङ्ग माध्यमिक विद्यालय, चमडा द्वितीय तथा ३ स्वर्ण, १ रजत र ४ कास्य पदकसहित दुर्गास्थान आधारभूत विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएको गाउँपालिकाका शिक्षा अधिकृत हरिप्रसाद पन्तले जानकारी दिए।
उनका अनुसार द्वितीय र तृतीयले क्रमशः १५ र १० हजार नगदसँगै ट्रफी र प्रमाणपत्र पाएका छन्। गाउँपालिकाले आधारभूत तह (१–८) विद्यालयस्तरीय उपराष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ। पालिकाका १२ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा विद्यार्थी खेलाडीहरूले उच्च खेल कौशल र अनुशासन प्रस्तुत गरेका छन्।
विजयी तीनै विद्यालयलाई हार्दिक बधाई ज्ञापन गर्दै अध्यक्ष भट्टले प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण खेलाडीलाई आगामी खेल जीवनको उज्ज्वल भविष्यको कामना गरे। साथै उनले प्रतियोगितामा सहभागी सबै विद्यालय, शिक्षक, प्रशिक्षक, व्यवस्थापक तथा सहयोगी सबैलाई विशेष धन्यवाद दिए।
प्रतियोगिताका खेल अजयमेरु–३ चन्बेताल खेल मैदानमा भएका थिए। पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ११ गतेदेखि सुरु हुने शिक्षा अधिकृत पन्तले बताए। उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मावि तहसम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने छन्। राष्ट्रपति रनिङ शिल्डका खेलहरू पनि अजयमेरु–३ चन्बेताल खेल मैदानमै हुने उनले बताए।

