Radio Unity 92.2MHz

आलितालमा जिप र अटो ठोक्किँदा एक युवकको मृत्यु, युवती गम्भीर

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप र अटो एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगर रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आइरहेका म १ च ४४१ नम्बरको जिप र बुडरबाट जोगबुडा जाँदै गरेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो आज (शुक्रबार) राति करिब ८:३० बजे ठोक्किएका थिए।

दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका-३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। उनको अवस्था नाजुक भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

उक्त अटोमा चालकसहित तीन जना सवार थिए। दुर्घटनापछि अटो चालक गोपाल मगर फरार रहेको र उनको खोजीकार्य भइररहेको बताइएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

जिपमा सवार तीनैजना सकुशल रहेको बताइन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...