डडेल्धुरा: आगामी प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट प्रत्यक्षतर्फ सिफारिसमा परेका नेपाली कम्युनिस्ट पार्टीका नेता मानसिंह माल ‘क्रान्ति’ ले नलड्ने घोषणा गरेका छन्।
पार्टीले समानुपातिक तर्फको बन्दसूचीमा डडेल्धुराबाट एक जनालाई पनि समावेश नगरेको भन्दै आफूले उक्त निर्णय लिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा नेता मालले निर्वाचन लड्ने इच्छा हुँदाहुँदै पनि पार्टीभित्र निर्वाचन हुनुअघि नै ‘सड्यन्त्र’ सुरु भएको आरोप लगाएका छन्।
‘हिजो पार्टीको तर्फबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची हेर्दा डडेल्धुराबाट एकजना पनि समावेश गरिएको छैन,’ उनले भनेका छन्, ‘यसले जिल्लाप्रति भएको उपेक्षा प्रस्ट पारेको छ, त्यसैले अब प्रतिनिधिसभा प्रत्यक्षतर्फ मेरो दाबी रहँदैन।’
मालले डडेल्धुराबाट आफ्नो नाम सिफारिस गरिदिने सबै नेता, कार्यकर्ता र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै राजनीतिक रूपमा अझै सक्रिय रहने जनाएका छन्। क्रान्ति पछिल्लो समय डडेल्धुरा राजनीतिमा प्रभावशाली र स्पष्ट वक्ता नेताका रूपमा चिनिँदै आएका छन्।
नेकपा डडेल्धुराले प्रत्यक्षमा खुल्लातर्फ माल र अनिल बोहरा, महिलातर्फ निरादेवी जैरु तथा जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको थियो।
यसैगरी समानुपातिकतर्फ नरबहादुर विष्ट, टेकबहादुर भण्डारी, सकुन्तला नगरकोटी, लक्ष्मी कामी, नन्दादेवी भट्ट, वीरेन्द्र मल्ल, जयन्ती बुढाऐर, नरभान पार्की, अहिल्या कुँवर र धर्मदेव लुहारको नाम सिफारिस गरिएको थियो।