Radio Unity 92.2MHz

डडेल्धुरामा २ हजार २०२ मतदाता बढे, चुनाव थप रोचक हुने संकेत

चार नयाँ मतदानस्थल थपिए

डडेल्धुरा: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा मतदाता संख्या बढेको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकसँगै यसपटक जिल्लामा कुल ९३ हजार ४०३ मतदाता कायम भएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ९१ हजार २०१ मतदाता थिए। अहिले जिल्लामा २ हजार २०२ जना मतदाता थपिएका छन्। बढ्दो मतदाता संख्याले डडेल्धुराको राजनीतिक सक्रियता र जनसहभागिता बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।

हाल कामय भएका कुल मतदातामध्ये ४६ हजार ९५७ पुरुष र ४६ हजार ४४६ महिला रहेका छन्। मतदाता वृद्धि भएसँगै मतदान संरचनामा पनि विस्तार गरिएको छ। यसपटक जिल्लामा १०४ मतदान स्थल र १४१ मतदान केन्द्र कायम गरिएका छन्। अघिल्लो निर्वाचनमा १०१ मतदान स्थल र १३९ मतदान केन्द्र थिए।

यसपटक एउटा पुरानो स्थल हटाई चार नयाँ मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर भवानीदत्त भट्टले जानकारी दिए। उनका अनुसार अजयमेरु गाउँपालिका–६ स्थित देवल मावि देवलदिव्यपुर मावि मतदानस्थल हटाई त्यस क्षेत्रका मतदातालाई अब भूमिराज आवि पिपलचौतारा र डागेश्वरी आवि कानाकोटमा मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नवदुर्गा गाउँपालिका–५ को भूमिराज आवि चौरबान्नीमा थप एउटा र गन्यापधुरा गाउँपालिका–१ को अशिग्राम आवि राउनाकोटमा अर्को एउटा नयाँ मतदानस्थल कायम गरिएको छ। राजनीतिक दलहरूबीच प्रतिस्पर्धा रहेको डडेल्धुरामा मतदाता वृद्धि हुनु चुनावी माहोल अझ तातेको संकेत मानिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...