डडेल्धुरा: नेपाल प्रहरीसँगको सहकार्यमा सामाजिक विकास कार्यालय डडेल्धुराले लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना तथा नियन्त्रण कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार यहाँका अटो व्यवसायी, चालक तथा ग्यारेज व्यवसायीहरूलाई लक्षित गरेर आयोजित उक्त कार्यक्रममा लागूऔषध, ट्राफिक नियम पालना तथा सडक सुरक्षाबारेमा जानकारी गराइएको छ।
अटो चालक तथा ग्यारेज व्यवसायीहरूमा लागूऔषध सेवन तथा ओसारपसारबाट हुने जोखिमबारे सचेत गराई यसको दुरुपयोग घटाउनका लागि कार्यक्रम आयोजना गरिएको सामाजिक विकास कार्यालयका प्रमुख मीनबहादुर लामिछानेले जानकारी दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले लागूऔषधले व्यक्ति, परिवार र समाजलाई विनाशतर्फ धकेल्ने चेतावनी दिए। उनले अटो व्यवसायी, चालक तथा ग्यारेज व्यवसायीहरूलाई लागूऔषध सेवन तथा कारोबार नगर्न आग्रह गरे।
यसका साथै उनले ट्राफिक नियम उल्लङ्घन गर्ने जो–कोहीलाई कडाभन्दा कडा कारबाही गरिने बताए। प्रजिअ कोइरालाले ट्राफिक नियम उल्लङ्घन र लागूऔषध सेवन तथा ओसारपसार गर्नेलाई कानूनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी वरुणबहादुर सिंहले लागूऔषधको प्रकार, त्यसको दुष्प्रभाव, ओसारपसार र कानुनी सजायबारे विस्तृत प्रस्तुतीकरण राखेका थिए।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक श्यामराज बोहराले ट्राफिक नियम र सडक सुरक्षाबारे जानकारी दिँदै क्षमताअनुसार मात्रै यात्रु बोक्न अटो चालकलाई आग्रह गरे।
उनले अटो चालकहरूलाई अनिवार्य रूपमा लाइसेन्स बनाउन र नियम पालना नगरे कारबाही गरिने बताए। कार्यक्रममा सहभागी अटो तथा ग्यारेज व्यवसायीहरूले पनि लागूऔषधविरुद्ध सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।




