डडेल्धुरा: नेकपा (एमाले) डडेल्धुराले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
आज बसेको एमाले डडेल्धुरा जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य पठानसिंह बोहरा, सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा संविधानसभा सदस्य ज्ञानु गैरे र पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
एमाले केन्द्रीय सदस्य बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत हुन्। उनी २०७९ को प्रदेश सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्र (हालको नेकपा) का नेता खगराज भट्टसँग पराजित भएका थिए।
त्यसपछि बोहरा प्रतिनिधि सभा निर्वाचनमार्फत पुनः राष्ट्रिय राजनीतिमा फर्किने तयारीमा जुटेका छन्। जिल्लास्तरबाट तीन जनाको नाम सिफारिस भएसँगै अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय नेतृत्वले लगाउने छ।