डडेल्धुरा: डडेल्धुरामा आयोजित नागरिक संवादले देशको वर्तमान राजनीतिक अस्थिरता, जेन–जी आन्दोलन र बढ्दो जनअसन्तुष्टिबाट बाहिर निस्कने एकमात्र उपाय समयमै, निष्पक्ष र सहभागीमूलक निर्वाचन नै भएको ठहर गरेको छ।
संवादमा सहभागी संघसंस्था, नागरिक समाज, कानुन व्यवसायी, सञ्चारकर्मी र विभिन्न सरोकारवालाहरूले लोकतन्त्र जोगाउने निर्णायक आधार निर्वाचन भएको साझा निष्कर्ष निकालेका हुन्। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले फागुन २१ मा तय भएको निर्वाचन कुनै पनि हालतमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा मंगलबार सम्पन्न संवाद कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले संविधान उत्कृष्ट भए पनि यसको कार्यान्वयन कमजोर हुँदा युवापुस्तामा असन्तुष्टि बढेर जेन–जी आन्दोलन देखिएको बताए।
‘मुलुकलाई थप अशान्तिमा जान नदिन अब स्थिरता आवश्यक छ, र त्यसको आधार निर्वाचन नै हो,’ उनले भने। युवाले रोजगारी, सुशासन र जवाफदेही शासन खोजिरहेको उल्लेख गर्दै संविधान जोगाउन समयमै निर्वाचन अपरिहार्य भएको उनले जोड दिए ।
महासंघका महासचिव देवी खड्काले देशमा फैलिएको नकारात्मकता चिर्न नागरिक समाजले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्। तोकेको समयमा निर्वाचन नभए देश झन् संकटमा जान सक्ने भन्दै उनले महासंघ निर्वाचन पर्यवेक्षकको रूपमा सक्रिय रहने जानकारी दिइन्।
उपमहासचिव किरण थापाले डडेल्धुराको राजनीतिक परिवेश बुझ्न र यहाँका सुझाव राष्ट्रिय नेतृत्वसम्म पुर्याउन आफूहरू आएको बताए।
एकीकृत विकास समाज नेपाल (आईडीएस) डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुङले फागुन २१ मै निर्वाचन गराउन सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताएकी छन् । उनले नागरिक समाज अधिकार खोज्ने मात्र नभई दायित्व पूरा गर्ने निकाय पनि हुनुपर्ने बताइन् ।
लू निभाः बाल सरोकार समूह डडेल्धुराका जिल्ला कार्यक्रम संयोजक धर्मसिंह ऐरले नागरिकको राजनीतिक चेतना विगतभन्दा फरक भइसकेको उल्लेख गर्दै समयमै निर्वाचन हुने विश्वास व्यक्त गरे।
यस्तै, डडेल्धुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जेन–जी आन्दोलन राज्य सञ्चालकहरूको कमजोरीको परिणाम भएको दाबी गर्दै आन्दोलन जायज भएको बताए। उनले निर्वाचन गराउन राजनीतिक दललाई गाउँ–गाउँ जान सक्ने सुरक्षित वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले अहिले पनि पूर्ण रूपमा ढुक्कसँग निर्वाचन गर्न सकिने अवस्था नबनेको बताए।
नेपाल बार एशोसिएसन डडेल्धुराका अध्यक्ष तुलाराम बोहराले निर्वाचन अनिवार्य भए पनि दलहरू नै चुनावमा जान तयार नदेखिएको आरोप लगाए। ‘तीन ठूला दल मिलेर हुने चुनाव कस्तो लोकतान्त्रिक हुन्छ?’ भन्दै उनले दलहरूलाई निर्वाचनमा जान दबाब दिनुपर्ने बताए।
यसैगरी पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले निर्वाचन धाँधलीरहित हुनुपर्ने भन्दै सरकार र सरोकारवाला सबैले निष्पक्ष वातावरण बनाउनु पर्ने बताए। मिडिया क्षेत्र निर्वाचन सफल पार्न निष्पक्ष भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता थियो।
संवादले नागरिक समाज केवल आलोचक मात्र नभई निर्वाचनलाई भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सक्रिय साझेदार बन्नुपर्ने निष्कर्ष पनि निकालेको छ।





