डडेल्धुरा: पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सातवटा मतदान केन्द्रमा अझै बिजुली नपुगेको तथ्य बाहिरिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचन अन्धकारमै गरिनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर र लज्जास्पद बनेको छ।
विद्युत् सेवा नपुगेका मतदान केन्द्रहरूमा समैजेश्वर प्राथमिक विद्यालय आलिताल गाउँपालिका–३ सेला, भागेश्वर मावि परशुराम नगरपालिका–२ बसौटी, सिद्धनाथ मावि परशुराम–७ मलास, कैलपाल देवल मावि भागेश्वर गाउँपालिका–१ पत्रम, पशुपति आधारभूत विद्यालय भागेश्वर–१ बलडा र डम्मरपुर आधारभूत विद्यालय भागेश्वर–४ चौड रहेका छन्।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले निर्वाचनअघि नै ती मतदान केन्द्रमा विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रलाई पत्राचार गरेको छ। बिहीवार सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश, प्रादेशिक कार्यालय अत्तरियालाई समेत बोधार्थ राख्दै यथाशीघ्र विद्युतीकरणको व्यवस्था गर्न आग्रह गरेका छन्।
तर यति महत्वपूर्ण निर्वाचनका बेलासमेत देउवाकै गृहजिल्लाका मतदान केन्द्रहरू अँध्यारोमै रहनु राज्य संयन्त्रको लापरवाही मात्रै होइन, राजनीतिक नेतृत्वको असफलताको स्पष्ट उदाहरण हो। देशको पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाले आफ्नो गृहजिल्लामा आधारभूत सेवा बिजुलीसमेत सुनिश्चित गर्न नसक्नुले ‘विकास र सुशासन’का उनका दाबीहरू कति खोक्रा छन् भन्ने प्रश्न उठाएको छ।
निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा बिजुली नहुनु मतदाता, कर्मचारी र सुरक्षाकर्मी सबैका लागि जोखिमपूर्ण हुन्छ । डडेल्धुरामा देखिएको यो अवस्था देउवाको राजनीतिक हैसियत र वास्तविक धरातलबीचको ठूलो विरोधाभासका रूपमा देखिन थालेको बताइन्छ।
जिल्लामा १०४ मतदान स्थल र १४१ मतदान केन्द्र कायम गरिएका छन्। यहाँ कुल ९३ हजार ४०३ मतदाता छन्। देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा छन्।
नेपाली कांग्रेस डडेल्धुराले सभापति देउवाको नाम एकलरूपमा सिफारिस गरिसकेका छ। यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए।
हेर्नुस् प्रशासनको पत्र–
