Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालमै जटिल हाडजोर्नी शल्यक्रिया हुँदै, बिरामीलाई ठूलो राहत

डडेल्धुरा: संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियाहरू जिल्लामै सर्वसुलभ, गुणस्तरीय र सुरक्षित रूपमा उपलब्ध गराउन थालेको छ।

यसअघि यस्ता उपचारका लागि बिरामीलाई धनगढी, नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने बाध्यता थियो। अस्पतालमा पछिल्लो समय सम्पन्न गरिएका केही जटिल र सफल शल्यक्रियाले स्थानीय नागरिकलाई ठूलो राहत मिलेको छ।

हालै सम्पन्न भएका प्रमुख शल्यक्रियाहरूमा अमरगढी नगरपालिका–७ का ६५ वर्षीय पुरुष बिरामीको तिघ्रा फेर्ने (Hemi Replacement Arthroplasty) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।

अमरगढी नगरपालिका–१० का ७० वर्षीय पुरुष बिरामीको घुँडाको जोर्नी भाँचिएको अवस्थामा Tibial Lateral Locking Plating तथा Better T Plating विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ।

यस्तै, बैतडीको शिवनाथ गाउँपालिका–३ की ६५ वर्षीया महिलाको घुँडा भाँचिएको जटिल अवस्थामा Tibial Lateral Locking Plating with Better T Locking Plating शल्यक्रिया सफलतापूर्वक गरिएको छ।

अस्पतालका अनुसार दार्चुलाको लेकम गाउँपालिका–६ निवासी २७ वर्षीया महिलाको आधुनिक MiPPO Plating प्रविधिबाट शल्यक्रिया सम्पन्न गरिएको छ।

पुस महिनामा मात्रै यस्ता जटिल प्रकृतिका ४० भन्दा बढी शल्यक्रिया सम्पन्न भइसकेका र तीमध्ये केही शल्यक्रिया सुदूरपश्चिम प्रदेशमै पहिलोपटक गरिएको अस्पतालको दाबी छ।

डडेल्धुरा अस्पतालमा दक्ष चिकित्सक, आधुनिक उपकरण र सुधारिएको सेवाका कारण अब दुर्गम क्षेत्रका नागरिकले घर नजिकै गुणस्तरीय उपचार पाउने अवस्था बनेको छ। यसले सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीलाई ठूलो राहत दिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...