Radio Unity 92.2MHz

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

शनिबार साँझ करिब ६ः३० बजे जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदामा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक परशुराम–१२ पन्तुराका २७ वर्षीय नवीन साउँद र पछाडि सवार परशुराम–६ तातापानी घर भई हाल परशुराम–१२ जोगबुढा बस्दै आएका ३५ वर्षीय मानबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीका अनुसार से २ त १४७४ नम्बरको ट्र्याक्टर र म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। ट्र्याक्टर डडेल्धुराको सतघाट घर भई हाल परशुराम नगरपालिका क्षेत्रमा बस्दै आएका ३२ वर्षीय सुरेश भट्टले चलाइरहेका थिए।

घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि साँझ करिब ७ः२० बजे चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ट्र्याक्टर चालक भट्ट फरार रहेको र ट्र्याक्टर तथा मोटरसाइकल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजतलास भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा आठ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट करिब आठ किलोमिटर दक्षिणमा पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...