डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले डडेल्धुरा जिल्लामा भर्ना गरिँदै आएको निर्वाचन प्रहरीको आवेदन म्याद थप गरिएको छ।
यसअघि पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समय तोकिएको थियो। तर विभिन्न कारणले आवेदन दिन छुटेका इच्छुक उम्मेदवारहरूको सुविधाका लागि अब माघ २ र ३ गते गरी थप दुई दिन आवेदन अवधि बढाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए। उनले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने लक्ष्यका साथ योग्य तथा इच्छुक नागरिकलाई तोकिएको म्यादभित्र आवेदन दिन आग्रह गरे।
आवेदकमध्ये जिल्लामा ९ सय ४४ जना निर्वाचन प्रहरी छनोट हुने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। उनका अनुसार बिहीवारसम्म जिल्लामा ८०६ जनाको आवेदन परेको छ।
अपेक्षितभन्दा कमले निर्वाचन प्रहरीमा आवेदन गरेपछि म्याद दुई दिन थपेर माघ ३ गते शनिबारसम्म लम्ब्याइएको हो। यसअघि निर्वाचनको सुरक्षामा सघाउन भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएकोमा यसपालि निर्वाचन प्रहरी नाम दिइएको छ। निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग देशैभर निर्वाचन प्रहरी भर्ना चलिरहेको छ।
१८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले यसमा आवेदन दिन मिल्छ। निर्वाचन प्रहरी हुन साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेको, शारीरिक र मानसिक रुपले स्वस्थ व्यक्ति हुनपर्छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षकलाई प्राथमिकता दिइनेछ। अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ।
निर्वाचन प्रहरीमा दरखास्त दिन शुल्क लाग्दैन। उत्तीर्ण भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ। माघ ३ गतेसम्म आवदेन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिनेछ।
निर्वाचन प्रहरीको नियुक्ति पाएको मितिले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नुपर्ने छ। निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ पाउनेछन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार ४० दिनको लागि खाद्यान्न बापतको रकम र निर्वाचनको क्रममो ठाउँमा आउने र जाने तयारीस्वरुप आठ सय ४६ रुपैयाँ र तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार दुई सय खाजा खर्च दिइनेछ।
