डडेल्धुरा: सागर ढकालले डडेल्धुराबाट चुनाव लड्ने बताइरहँदा उनलाई उम्मेदवारका रूपमा अस्वीकार गर्ने अभियान जिल्लामा तीव्र बन्दै गएको छ। सामाजिक सञ्जाल र स्थानीय राजनीतिक वृत्तमा ‘No Sagar’ अभियान व्यापक बन्दै आएको छ, जसले डडेल्धुराको राजनीति तातिएको छ।
स्थानीय नेताहरू, कार्यकर्ता तथा नागरिक समाजका प्रतिनिधिहरूले सागर ढकाल डडेल्धुराको माटो, भूगोल र भाषासँग नजोडिएको दाबी गर्दै उनको उम्मेदवारी स्वीकार्य नहुने बताएका छन्। डडेल्धुराको प्रतिनिधित्व स्थानीय परिवेश, समस्या र जनभावनालाई नजिकबाट बुझेको व्यक्तिले गर्नुपर्ने उनीहरूको धारणा छ।
सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका पोस्टहरूमा ‘डडेल्धुरामा ‘भेडा’ बस्दैनन्, हामी नेता हाम्रो माटो, भूगोल र भाषा बुझेको चहान्छौं,’ भन्ने सन्देशसहित ढकालको उम्मेदवारीको विरोध गरिएको छ। फेसबुकलगायत प्लेटफर्ममा #No_Sagar र #our_leader जस्ता ह्यासट्याग प्रयोग गर्दै अभियान फैलिँदै गएको देखिन्छ।
स्थानीय नेताहरूले बाहिरबाट आएर डडेल्धुराको राजनीति गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन्। घोषणामात्र गरेर उम्मेदवार बन्नेभन्दा पनि जिल्लासँगको दीर्घ सम्बन्ध र योगदान महत्वपूर्ण हुने तर्क उनीहरूको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग ढकाल पराजित भएका थिए। ढकालले स्वतन्त्र उम्मेदवारी दिँदै १३ हजार ४३ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका थिए। देउवाले भने २५ हजार ५३४ मत ल्याएर जित निकालेका थिए।
पराजित भएपछि ढकाल डडेल्धुरा नफर्किएको र त्यसबेला उनलाई सहयोग गरेका अहिले धेरै रुष्ट छन्। पेशाले इन्जिनियर रहेका गुल्मीका ढकाल अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध छन्। रास्वपा डडेल्धुरा नै ढकाललाई उम्मेदवारका रूपमा स्वीकार्न तयार छैन।