डडेल्धुरा: प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै डडेल्धुरामा निर्वाचन प्रहरी भर्नाका लागि १ हजार १ सय जनाले आवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पुस २५ गतेदेखि माघ ३ गतेसम्म १ हजार १ सय जनाले आवेदन दिएका हुन्। प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार प्राप्त आवेदनमध्येबाट जिल्लामा ९ सय ४४ जना निर्वाचन प्रहरी छनोट गरिनेछ।
प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, मर्यादित र शान्तिपूर्णरूपमा सम्पन्न गराउन निर्वाचन प्रहरी भर्ना गरिँदैछ। सुरुवातमा पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समय तोकिएको थियो।
तर विभिन्न कारणले आवेदन दिन छुटेका इच्छुक उम्मेदवारहरूको सुविधाका लागि माघ २ र ३ गते गरी थप दुईदिन आवेदन अवधि थप गरिएको थियो। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा दरखास्त दिएका उमेदवारहरूले आइतवार कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
निर्वाचन प्रहरीको नियुक्ति पाएको मितिले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नुपर्ने छ। निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ पाउनेछन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार ४० दिनको लागि खाद्यान्न बापतको रकम र निर्वाचनको क्रममो ठाउँमा आउने र जाने तयारीस्वरुप आठ सय ४६ रुपैयाँ र तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार दुई सय खाजा खर्च दिइनेछ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सूचना–
