Radio Unity 92.2MHz

डडेल्धुरा अस्पताललाई सरोकारवालाको सुझाव– सेवा सुधार्नू र पारदर्शी हुनू

डडेल्धुरा: डडेल्धुरा अस्पतालको समग्र विकास र गुणस्तरीय सेवा प्रवाहका विषयमा बुधवार जिल्लास्थित सरोकारवालासँग विचार–विमर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा अस्पतालको व्यवस्थापन, जनशक्ति, सेवा प्रवाह र पारदर्शिताका विषयमा गम्भीर प्रश्न उठाउँदै सुधारका ठोस सुझाव प्रस्तुत गरिएका छन्। कार्यक्रममा अस्तालका सूचना अधिकारी टंकप्रसाद पन्तले अस्पतालको समग्र सेवा प्रवाह र हाल उपलब्ध सेवाहरूको विवरण प्रस्तुत गरेका थिए भने लेखा अधिकृत ज्ञानबहादुर सिंजालीले अस्पतालको आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

डडेल्धुरा अस्पताल हाल १३२ शय्यामा सञ्चालन भइरहेको सूचना अधिकारी पन्तले जानकारी गराएका थिए। उनका अनुसार हाल अस्पतालमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरेर २९६ जना कार्यरत छन्।

उनले अस्पतालमा दरबन्दी भएका २२ जना कर्मचारी बाहिर कार्यरत रहेको र अन्य स्थानमा दरबन्दी भएका ३९ जना कर्मचारी भने डडेल्धुरा अस्पतालमै कार्यरत रहेको तथ्य सार्वजनिक पनि गरेका थिए। यसले अस्पतालको जनशक्ति व्यवस्थापनमै समस्या देखिएको सरोकारवालाहरूको भनाइ थियो।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्री सदस्य उत्तर विष्टले अस्पतालसम्बन्धी आएका समाचारप्रति प्रशासन गम्भीर हुनुपर्नेमा जोड दिए। अस्पतालमा दक्ष जनशक्ति भित्र्याउन अस्पताल विकास समिति सक्रिय हुनुपर्ने र सेक्टरअनुसार छुट्टाछुट्टै छलफल गरी समस्या पहिचान गर्नुपर्ने उनको सुझाव थियो।

त्यस्तै, पत्रकार महासंघ सुुदूरपश्चिमका उपाध्यक्ष मानबहादुर साउदले अस्पताल प्रशासन पारदर्शी रूपमा काम गर्न चुकेको आरोप लगाए। कर्मचारी छनोटमा दक्षभन्दा आफ्नालाई प्राथमिकता दिइएको, हचुवाको भरमा कर्मचारी राखिएको र कर्मचारीको व्यवहारमा सुधार आवश्यक रहेको उनले बताए। बिग्रेको एक्स–रे मेसिन र एम्बुलेन्स अझै सञ्चालनमा नआउनु दुःखद् भएको उनको भनाइ थियो।

नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले बिरामीप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए। अस्पताल भित्रको फार्मेसी र बाहिरका फार्मेसीबीच मिलोमतोमा औषधि बिक्री हुने गरेको तथा अस्पतालभित्रबाटै औषधि गायब हुने गरेको अनुभव उनले सुनाए।

नेपाली कम्युनिष्ट पार्टीका नेता चक्र ठकुराठीले अस्पतालको बृहत्तर हितका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाउने र अपारदर्शिता मौलाउने कार्य नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश साउदले आवश्यक परेका बिरामी मात्र रिफर गर्नुपर्ने, डाक्टरलाई अन–ड्युटीमा राख्नुपर्ने, ल्याबमा भइरहेको लापरबाही सुधार गर्नुपर्ने र फार्मेसीमा गुणस्तरहीन औषधि बिक्री रोक्नुपर्ने सुझाव दिए । साथै, कर्मचारी परिचालन व्यवस्थित गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले दक्ष जनशक्ति अभावका कारण सोचेजस्तो सेवा दिन नसकिएको बताइन्। आफू यहाँ आएदेखि अस्पताललाई सही ट्र्याकमा ल्याउन निरन्तर प्रयासरत रहेको जानकारी दिँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवा सुधारमा लागिपरेको उल्लेख गरिन्।

उनका अनुसार अस्पतालभित्र निर्माण गरिएका भौतिक संरचनाहरू अपुरा र अधुरा छन् भने प्रारम्भिक डिजाइन तथा स्टिमेटमै समस्या छ। आगामी फागुनभित्र ३०० शय्याको अस्पताल निर्माण गर्नु अहिलेको मुख्य चुनौती रहेको उनले औँल्याइन्।

कार्यक्रमको समापनमा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले अस्पतालको सेवालाई क्रमिक रूपमा सुधार गर्दै लगिएको बताए। अस्पतालको समग्र विकास र सेवा विस्तारका लागि सबैको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।

यहाँका जनतालाई विशेषज्ञ सेवा उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै छलफलमा आएका सुझावहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित पाेष्टहरु
Loading...